काठमाडौं। चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा मंगलबार भुटानको पारो एफसीसँग प्रतिस्पर्धा गर्दैछ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुका ६ बजे सुरु हुनेछ। २०२१ मा सी, ०२२ मा बी र अघिल्लो वर्ष ए डिभिजन जितेर उपाधिमा ह्याट्रिक गरेको चर्च ब्वाइजले पहिलोपल्ट महादेशीय क्लब प्रतियोगिता खेल्न लागेको हो।
पारो भने दोस्रोल्पट नेपाल आएको हो। अघिल्लो वर्ष पारो पहिलो राउन्डमा मच्छिन्द्र फुटबल क्लबलसँग ३-२ गोल अन्तरले पराजित भएको थियो।
सिंगल लेग नकआउट फर्म्याटमा हुने खेलको विजेता प्रतियोगिताको समूह चरणका लागि छनोट हुनेछ। समूह चरणका खेलहरू अक्टोबर २६ र नोभेम्बर २ मा ‘होम एन्ड अवे’ का आधारमा हुनेछन्।
प्रतियोगितामा छनोट भए चर्च ब्वाइजले न्युनतम एक लाख अमेरिकी डलर प्राप्त गर्नेछ। त्यसैले समूह चरणमा प्रवेश गर्न दुवै टोली नतिजा आफ्नो पक्षमा ल्याउने योजनामा छन्।