काठमाडौं। एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा ‘ए’ डिभिजन लिग क्लब चर्च ब्वाइज युनाइटेसँग प्रतिस्पर्धा गर्न नेपाल आइपुगेको पारो एफसीमा सबै छ।
भुटानी क्लब भए पनि पारोले यसपल्ट जापानी राष्ट्रिय टोलीको झल्को नै दिने प्रयास गर्नेछ। पारोसँग तीनपल्ट (सन् २०१०, २०१४ र २०१८) विश्वकप खेलिसकेका केइसुके होन्डा छन्।
उनी मात्रै होइन, जापानकै मोतोहिरो केनसिरो, कोकी नारिता, काजिओ होमा र तोमोयोकी उनो पनि यही टोलीमा छन्। मुख्य प्रशिक्षक पुष्पलाल शर्माका अनुसार होन्डा र अर्का एक खेलाडीलाई भने यही प्रतियोगिताका लागि अनुबन्ध गरिएको हो।
भुटान प्रिमियर लिगमा नौ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न मिल्ने प्रावधान छ। तर, एक खेलमा चार जनाभन्दा बढी खेलाडीलाई भने मैदान उतार्न पाइने छैन। त्यसैले पारोले भुटान प्रिमियर लिगमा मैदान उतार्न नपाएका अन्य विदेशी खेलाडीलाई पनि चर्च ब्वाइजविरुद्ध उतार्ने योजना बनाएको छ।
‘हामीले यही प्रतियोगिताका लागि मात्रै भनेर दुई जना मात्रै खेलाडी अनुबन्ध गरेका हौं। यी दुई जना खेलाडी भुटान प्रिमियर लिगमा दर्ता छैन। अन्य भने लिग खेलिरहेका खेलाडी हुन्। यी सबै खेलाडीलाई मैदान उतार्ने छौं, उनले भने।
पारोसँग घानाका इभान्स एसान्टे, विलियम ओपोकु र रिचार्ड गाड्जेका पनि छन्। ओपोकुले भने नेपालमा दुई वर्षभन्दा बढी फुटबल खेलिसकेका छन्। सातदोबाटो युथ क्लबबाट ‘ए’ डिभिजन लिगमा डेब्यु गरेका उनले नेपाल सुपर लिगका दुई सिजन पनि खेलेका थिए।
उनले एरिक विष्टको कप्तानीमा रहेको बुटवल लुम्बिनी एफसी र दीप कार्कीको कप्तानीमा रहेका वीरगञ्ज युनाइटेडबाट नेपाल सुपर लिग खेलेका हुन्। यसले पनि पारोलाई केही फाइदा पुग्नेमा आशावादी देखिन्छन्, शर्मा।
पारोका विदेशी खेलाडीको सूची यही अन्त्य हुँदैन। यसमा सर्बियाका मिलान लालिच र मिलोस कुपिच पनि छन्। यस्तै, मोन्टेनेग्रोका मार्को इभानोभिच पनि पारोमा थपिएका ११औं विदेशी खेलाडी हुन्। तर, चर्च ब्वाइजका कप्तान अनन्त तामाङ भने पारोमा भएका खेलाडी को हुन् र कति ठूला नामका हुन्? यसले आफ्नो टोलीलाई केही फरक नपर्ने बताउँछन्।
उनको भनाइ छ, ‘क्लबले राष्ट्रिय टोलीका खेलाडीलाई विश्वास गरेको छ। त्यसैले पारोमा को छ, कति छ र कस्तो नाम भएको खेलाडी छ भनेर हामीलाई केही फरक पर्दैन।’
चर्च ब्वाइजले यही प्रतियोगिताका लागि भनेर जाम्बियाका पिटर बान्दा, घानाका मोसेस ग्याबा र नाइजेरियाका ओमोलाजा करिमलाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको छ। यी खेलाडी चर्च ब्वाइजमा ढिला अनुबन्ध भएका हुन्। तर, चर्च ब्वाइजसँग नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीको एक दस्ता नै छ।
नेपाली टोलीको प्रतिनिधित्व गर्दै १३ अन्तर्राष्ट्रिय गोल गरिसकेको अञ्जन विष्टलाई टोलीमा निरन्तरता दिएको छ। उनीबाहेक डिफेन्डर अनन्त तामाङ, मिडफिल्डरद्वय एरिक विष्ट तथा मिडफिल्डर लाकेन लिम्बू, विंगर आयुष घलान, गोलरक्षक दीप कार्की र फरवार्ड सञ्जीव विष्टलाई चर्च ब्वाइजले अनुबन्ध गरेको छ।
अनन्त र एरिकले चर्च ब्वाइजलाई डेब्यु सिजनमै ‘ए’ डिभिजन लिगको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। यस्तै, दीप भने मोफसलका प्रतियोगितामा चर्च ब्वाइजसँग आबद्ध भएका थिए। यी खेलाडीबाहेक छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई र विवेक पौडेलजस्ता खेलाडीलाई अनुबन्ध गर्दै चर्च ब्वाइजले टोलीलाई बलियो बनाएको छ।
त्यसैले ढुक्क देखिन्छन् कप्तान अनन्त। भन्छन्, ‘पारोलाई कसरी बिट गर्ने भन्नेबारे रुणनीति र योजना हामीसँग छ। एक दुई हप्तासम्म टोलीको कम्बिनेसन मिल्न अलिक गाह्रो भएको थियो। तर, अहिले मिलिसकेको छ। सँगै खेलिरहेका खेलाडी क्लबमा भएको कारण पनि विपक्षीविरुद्ध खेल्न समस्या छैन।’