काठमाडौं। प्रिमियर लिग क्लब चेल्सीले पोर्चुगलका विंगर पेड्रो नेटोलाई सात वर्षका लागि अनुबन्ध गरेको छ। चेल्सीले उनलाई वुल्भ्सबाट अनुबन्ध गरेको हो।
कुनै पनि क्लबले आर्थिक विवरण सार्वजनिक गरेका छैनन्। तर बेलायती सञ्चारमाध्यमका अनुसार चेल्सीले ५करोड ४० लाख पाउन्ड (६ करोड ९० लाख अमेरिकी डलर) तिरेको छ।
सन् २०१९ मा पोर्चुगिज क्लब ब्रागाबाट उनले डेब्यू गरेका थिए। त्यसयता नेटोले वुल्भ्सका लागि १३५ खेल खेल्दै १४ गोल गरेका छन् भने २४ असिस्ट गरेका छन्। उनले सिरी ए क्लब लाजियोमा पनि लोनमा खेलेका थिए।
उनले पोर्चुगलका लागि १० क्याप प्राप्त गरेका छन् र जर्मनीमा भएको युरो कपमा समूह चरणका तीनै खेलमा खेलेका थिए। ‘चेल्सीमा अनुबन्ध हुन पाउँदा साँच्चै आभारी छु। मैले यहाँ आउनका लागि आफ्नो क्यारियरमा धेरै मिहिनेत गरेको छु। चेल्सीको जर्सी लगाएर मैदान उत्रिन उत्सुक छु,’ उनले भने।
चेल्सीले क्लोज सिजन ट्रान्सफर विन्डोमा अहिलेसम्म नौ खेलाडी अनुबन्धित गरिसकेको छ। चेल्सीले डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीसँग खेल्दै प्रिमियर लिग सुरुआत गर्नेछ। यी दुईबीचको खेल अगस्ट १८ मा हुनेछ।