काठमाडौं । सिजनको अन्त्यसँगै सम्झौता सकिएपछि कप्तान सर्गी रोबर्टोले क्याटलान क्लब बार्सिलोना छाडेका छन्।
३२ वर्षीय मिडफिल्डर तथा फुल ब्याक रोबर्टो सन् २००६ मा जिम्न्यास्टिक डे तारागोनाबाट बार्सिलोनाको युथ टोलीमा भित्रिएका थिए। त्यसको तीन वर्षपछि बार्सिलोनाको बी टोलीमा डेब्यू गरेका उनी २०१० देखि सिनियर टोलीबाट खेल्दै आएका थिए।
उनले झन्डै दुई दशक बार्सिलोनामा बिताए। रोबर्टो मुख्यतया मिडफिल्डमा खेल्छन्। तर, फुल ब्याकको रूपमा पनि उनी उत्कृष्ट छन्। ३७३ खेलमा १९ गोल गरे रोबर्टो र बार्सिलोनाबीचको सम्झौता सिजनको अन्त्यसँगै सकिएको थियो।
‘यो यात्राको लागि धन्यवाद। बार्सिलोनासँगको मेरो इतिहास १४ वर्षको हुँदा सुरु भएको थियो। बार्सिलोनाको जर्सी लगाउने मेरो सपना थियो। डेब्युदेखि कप्तान बन्ने र सम्भावित सबै उपाधि जित्ने सपना थियो। आइडलहरू र विश्वका उत्कृष्ट खेलाडी र प्रशिक्षकहरूसँग ड्रेसिङ रुम सेयर गर्न पाएको छु। सिनियर टोलीमा ११ वर्ष अद्वितीय क्षण र अनुभवहरूले भरिएको छ,’ उनले भनेका छन्।
बार्सिलोनामा रहँदा उनले सात ला लिगा, ६ कोपा डेल रे, पाँच स्पेनिस सुपर कप र दुई च्यापिम्पयन्स लिग जिते। यस्तै, युइएफए सुपर कप र फिफा क्लब विश्वकपको उपाधि पनि उनले आफ्नो पोल्टमा पारेका छन्।