एजेन्सी । युभेन्ट्सले इटालियन सुपर कप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा एसी मिलानलाई १ - ० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले उपाधि जितेको हो ।
साउदी अरेबियामा भएको उपाधि भिडन्तमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रोनाल्डोले निर्णायक गोल गरेका थिए ।
खेलको ६१ औं मिनेटमा रोनाल्डोले हेड गोल थिए । मिरालिम पाजनिकले उपलब्ध गराएको पासमा रोनाल्डोले ट्रेड मार्क हेड गोल गरेका हुन् ।
यस्तै खेलको ७४ औं मिनेटमा फ्रान्कले रातो कार्ड खाएपछि एसी मिलान १० खेलाडीमा समेटिएको थियो ।
यो उपाधिसंगै रोनाल्डोले युभेन्ट्सबाट पहिलो उपाधि जितेका छन् । यसै सिजनको सुरुवातमा रियल मड्रिडबाट आएका रोनाल्डोले पहिलो उपाधिमा निर्णायक गोल समेत गरे ।
सुपर कपको उपाधिसंगै युभेन्ट्सले सिजनको पहिलो उपाधि घर भित्र्याएको छ । यस्तै युभेन्ट्सले कीर्तिमानी आठौं पटक सुपर कप जितेको हो ।