काठमाडौं। वेस्ट इन्डिजका पूर्वअलराउन्डर तथा मुम्बई इन्डियन्सका सहायक प्रशिक्षक किरोन पोलार्डले राशिद खानमाथि लगातार पाँच छक्का प्रहार गरेका छन्।
उनले द हन्ड्रेडमा ट्रेन्ट रकेट्सविरुद्ध सदर्न ब्रेभका लागि पाँच छक्का प्रहार गरेका हुन्। जसले उनको टोलीलाई रोचक खेलमा दुई विकेटले जिताउन मद्दत गर्यो।
पोलार्डले इनिङ्सको १७औं ओभरमा पाँच छक्का प्रहार गरेका हुन्। त्यतिबेला ब्रेभको टोली ८० बलमा ६ विकेट गुमाएर ७८ रनको स्थितिमा थियो। त्यसबेला पोलार्ड पनि संघर्षरत थिए र पहिलो १४ बलमा ६ रन मात्र बनाउन सकेका थिए। यसपछि पोलार्डले राशिदको पाँच बलमा लगातार पाँच छक्का प्रहार गर्दै ब्रेभको आशालाई पुनर्जीवित गरे।
उनले राशिदको गुगलीमा दुई छक्का (डिप मिडविकेटमा), लङ अफमा दुई छक्का र एक्स्ट्रा कभरमा एक छक्का प्रहार गरे।
पोलार्डले पहिलो पटकयो उपलब्धि हासिल गरेका होइनन्। यसअघि उनले मार्च २०२१ मा पनि श्रीलंकाविरुद्धको ट्वान्टी–२० खेलमा अकिला धनञ्जयविरुद्ध लगातार ६ छक्का प्रहार गरेका थिए।
पोलार्ड २३ बलमा ४५ रन बनाएर रनआउट भए पनि क्रिस जोर्डनले एक बल बाँकी रहँदा चौका प्रहार गर्दै टोलीलाई जित दिलाए। यो जितसँगै ब्रेभले शीर्ष स्थानमा रहेको ओभल इन्भिन्सिबलसँग अंक बराबरी गरेको छ।
खेलपछि पोलार्डले भने, ‘मैले बिस्तारै सुरु गरें। तर, यो पिचमा आउनेबित्तिकै ठूला शटहरू खेल्न सकिँदैन। त्यसैले मैले आक्रमक इनिङ्स खेल्न बलर छनोट गर्ने निर्णय गरें। मैले राशिदसँग धेरै खेलेको छु। मलाई धेरै पटक आउट पनि गरेको छ, मलाई थाहा थियो उसले कुन लाइन र लेन्थमा बल गर्छ।’