काठमाडौं। दक्षिण अमेरिकी राष्ट्र ब्राजिलले पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलमा अमेरिकाविरुद्ध उपाधि जित्ने लक्ष्य राखेको थियो। तर, अन्ततः फेरि ब्राजिल अमेरिकासँग पराजित हुन पुग्यो, १–० ले।
ओलम्पिकको फाइनलमा अमेरिकासँग ब्राजिल तेस्रोपल्ट पराजित भएको हो। यसअघि सन् २००४ र ००८ मा पनि ब्राजिल अमेरिकासँगै पराजित भएको थियो।
ब्राजिलका प्रशिक्षक अर्थर एलियासले शनिबारको हारले आफू निराश भए पनि सन् २०२७ मा घरेलु भूमिमा हुने विश्वकप जित्नेमा आफू विश्वस्त रहेको बताएका छन्।
समूहचरणमा तेस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको ब्राजिलले पदक विजेता तथा आयोजक फ्रान्स र विश्व विजेता स्पेनलाई पराजित गर्दै पार्क डेस प्रिन्सेसमा स्वर्ण पदकको यात्रा तय गरेको थियो।
तीन वर्षअघि जापानमा आयोजित टोकियो ओलम्पिकमा ब्राजिल क्वार्टरफाइनलबाटै बाहिरिएको थियो। ब्राजिलका प्रशिक्षक एलियासले टोलीलाई एकपल्ट पुनस् पोडियममा फर्काएपछि सकारात्मक प्रतिक्रिया दिएका छन्।
‘हाम्रो टोलीमा उत्कृष्ट प्रतिभा छ। यो हाम्रो लागि अविस्मरणीय ओलम्पिक थियो। उनीहरूलाई आज पोडियममा देखेर धेरै भावुक भएँ,’ उनले भने, ‘हामीले प्रदर्शनमा धेरै सुधार गरेका छौं, राम्रो नतिजा हासिल गरेका छौं। त्यसैले हामीले शिर ठाडो बनाउनुपर्छ।’
एलियासले ब्राजिलका सर्वकालिक सर्वाधिक गोलकर्ता मार्टाको पनि प्रशंसा गरे। जसले यस वर्ष अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने बताएकी थिइन्।
‘यो उनको व्यक्तिगत निर्णय हो। पक्कै पनि म अहिले यसबारे सोचिरहेको छैन। तर, उनलाई सन्न्यास फिर्ता लिन राजी गराउने कोसिस गरिरहेको छु,’ उनले भने।