काठमाडौं। एनपीओ रियाले वर्ल्ड (सत्य संसार) ले ग्रासरुटका खेलाडीहरूलाई ‘माई फुटबल किट’ को माध्यमबाट जीवन जिउने कला सिकाइको लागि कार्यशाला थालेको छ।
अघिल्लो दिन नयाँ ठिमीस्थित शंखधर मेमोरियल स्कुलमा ८ देखि १२ वर्षका फुटबल खेलाडीलाई प्रशिक्षण दिएको रियाले वर्ल्डले शनिबार एन्फा कम्प्लेक्समा ६ देखि १० वर्षसम्मका ६० जना बालबालिकालाई सातदोबाटामा प्रशिक्षण दियो।
रियाले वर्ल्डका कार्यक्रम संयोजक बालगोपाल साहुखलले भने, ‘टुक्रा टुक्रा जोडेर बल बनाउने, त्यही बल खेल्ने, बिग्रेपछि पुन: त्यसलाई जोडेर बल बनाउने अभ्यास गराउँदै आइपर्ने समस्या समाधान गर्ने र सिर्जनशीलता देखाउँदै जीवन जिउने उपयोगी कला सिकाउने उद्देश्यले बालबालिकाका लागि माई फुटबल किट कार्यक्रम ल्याएका हौं। यसलाई उपत्यकाका फुटबल एकेडेमी, स्कुलहरू हुँदै मोफसलमा पनि सञ्चालन गर्नेछौं।’
फुटबल प्रशिक्षकसमेत रहेका साहुखलका अनुसार राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ, महिला टिमका सहायक प्रशिक्षक भगवती थापासहित एन्फा (अखिल नेपाल फुटबल संघ) तीन प्रशिक्षक तथा रियाले वर्ल्डका नेपाली तथा जापानी १० जना स्वयंसेवकको सक्रियतामा कार्यक्रम सञ्चालन गरिएको हो। रियाले वर्ल्डका सचिव चिकाको मियामोताको पनि उपस्थिति रहेकी थिइन्।
जापानी संस्था रियाले वर्ल्डले नेपालमा ११ वर्षयता फुटबल सामाग्री उपलब्ध गराउनेलगायत सहयोग गर्दै आएको छ। उसले बोडे, भक्तपुरमा फुटबल एकेडेमी पनि सञ्चालन गरिरहेको छ, जसमा ८० जना बालबालिकाले नियमित प्रशिक्षण गरिरहेका छन्।