काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेट पाँचौ खेलमा विकेट लिएका छन् ।
सिलेट सिक्सर्सबाट बीपीएल खेलिरहेका सन्दीपले रंगपुर राइडर्सविरुद्ध विकेट लिन सफल भएका छन् । सन्दीपले आफ्नो अन्तिम तथा चौथो ओभरमा विकेट लिएका हुन् । उनले चौथो ओभरको पाँचौ बलमा बेनी होएललाई बोल्ड आउट गरे ।
योसंगै सन्दीपले विकेट विहिन यात्रामा पूर्णविराम लगाएका छन् । डेब्यु खेलमा विकेट लिएपछि सन्दीप त्यसपछि लगातार दुई खेलमा विकेट विहिन बनेका थिए ।
सन्दीपले राइडर्सविरुद्ध ४ ओभर बलिङ गर्दै १८ रन खर्चिएर १ विकेट लिन सफल भए ।
सन्दीपले पहिलो, दोस्रो र तेस्रो ओभरमा भने विकेट लिन सकेनन् । सन्दीपले पहिलो ओभरमा ६ तथा दोस्रोमा ५ रन खर्चिए । तेस्रो ओभरमा ४ रन खर्चिए ।
सिलेटमा सन्दीपको टिम सिक्सर्सले दिएको १८८ रनको लक्ष्यसहित राइडर्स जवाफी ब्याटिङ गरिरहेको छ ।
यसअघि टस हारेर ब्याटिङ गरेको सिक्सर्सले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १८७ रन बनाएको थियो ।
सिक्सर्सका लागि कप्तान डेभिड वार्नर र लिटोन दासले अर्धशतकीय इनिङस खेले । वार्नरले अविजित ६१ रन जोड्दा दासले ७० रन जोडे । राइडर्सका साफुल इस्लामले ३ विकेट लिए ।
लिगमा तीन खेल गुमाईसकेको सिक्सर्सलाई प्ले अफमा पुग्ने सम्भावना जीवित राख्न राइडर्सविरुद्धको खेल जित्नै पर्ने दबाब छ ।
सन्दीपको टिम सिक्सर्स २ अंक जोडेर लिगको अन्तिम स्थानमा छ । राइडर्स ४ अंक जोडेर पाँचौ स्थानमा छ ।