काठमाडौं। विभागीय टोली एपीएफ क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा विजयी हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न दिनको पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडलाई एपीएफले २–१ गोलले पराजित गरेको हो।
एपीएफको जितमा अमन मोक्तान र पवन पाख्रिनले गोल गरे। यता, चर्च ब्वाइजका शिशिर यसमालीले गरेको गोल सान्त्वना बन्यो।
जितसँगै एपीएफले आठ खेलबाट तेस्रो जितसँगै १० अंक जोडेको छ। यता, पराजित चर्च ब्वाइजको समान खेलबाट १३ अंक छ।
खेलको २१औं मिनेटमा अमनले गोल गर्दै खेलमा एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए। तर, दोस्रो हाफको ६९औं मिनेटमा शिशिरले गोल गर्दै चर्च ब्वाइजलाई खेलमा फर्काए।
त्यसपछि ९०औं मिनेटमा पवनले गोल गर्दै एपीएफको जित पक्का गरे।