काठमाडौं। लगातार दोस्रो हारसँगै विभागीय टोली त्रिभुवन आर्मी एसियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता डुरान्ड कप २०२४ को समूह चरणबाटै बाहिरिएको छ।
जवाहरलाल नेहरु स्टेडियममा बिहीबार भएको खेलमा आर्मी इन्डियन सुपर लिग (आइएसएल) क्लब एफसी गोवासँग २–१ ले पराजित भएको हो।
समूह ‘एफ’ को पहिलो खेलमा आर्मी आई लिग क्लब सिलोङ लाजोङ एफसीसँग १–० ले पराजित भएको थियो। अब आर्मीले समूह चरणको अन्तिम खेल १३ अगस्टमा रंगदाजीद युनाइटेडसँग खेल्ने छ।
गोवाले भने लगातार दोस्रो जितसहित नकआउट चरणको यात्रा लगभग तय गरेको छ। उसले पहिलो खेलमा रंगदाजीद युनाइटेडलाई ४–३ ले पराजित गरेको थियो। गोवाले समूह चरणको अन्तिम खेल सिलोङसँग खेल्ने छ।
गोवालाई जित दिलाउन खेलको पहिलो मिनेटमै अबविहाले गोल गरे। ५०औं मिनेटमा सिट्रोय कार्भाल्होले गोवाका लागि दोस्रो गोल थपे। ६६औं मिनेटमा वसन्त जिम्बाले गोल गरे पनि आर्मीलाई पर्याप्त भएन र २–१ ले पराजित भयो।