काठमाडौं। त्रिपुरेश्वरस्थित दशरथ रंगशालाले पुनः अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ। एसियाली फुटबल महासंघले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न अनुमति दिएको हो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई एएफसीको आधिकारिक जवाफ माग गरेसँगै दशरथ रंगशालालाई एएफसीबाट योग्य रहेको रिपोर्ट प्राप्त भएको हो।
विभिन्न प्रश्न उठाउँदै एफसीले केही सम देखि दशरथ रंगशालामा अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो। एएफसीले रंगशालालाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अयोग्य भने पछि गत चैत्र महिनाबाट राखेपले खेल मैदानको रेखदेख र संरक्षण सुरु गरेको थियो।
यसैबीच एएफसीका प्रतिनिधिले यही साउन ९ गते दशरथ रंगशालाको निरीक्षण तथा अवलोकन गरी मापदण्ड पूरा भएको प्रतिवेदन दिएको एन्फाले जानकारी दिएको छ।
दशरथ रंगशालाको खेल मैदान अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य भएको प्रतिवेदन दिएसँगै साउन २९ गते एएफसी च्याजेन्ज लिग छनोटको प्लेअफअन्तर्गत भुटानको पारो एफसी र नेपालको चर्च व्बाइज युनाइटेडबीच खेल हुने भएको छ।
अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि रंगशाला अयोग्य भएको एएफसीले गत चैत्रमा प्रतिवेदन दिएपछि नेपालमा नै गत चैत्र ८ गते आयोजना हुनुपर्ने विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको नेपालले बहराइनको मैदानमा खेलेको थियो। जेठ २४ गते युएईसँगको खेल पनि साउदी अरबमा भएको थियो।
लामो समयदेखि एन्फाले संरक्षण गर्दै आएको खेल मैदानप्रति एएफसीले प्रश्न उठाएपछि राखेप सदस्य सचिव टंकलाल घिसिङले चैत्रदेखि आफैंले रंगशालाको खेल मैदान संरक्षण र मर्मतको जिम्मा लिने निर्णय गरेका थिए।
मैदानले एसफसीबाट पुनः मान्यता पाएपछि घिसिङले नेपाली दर्शकले फेरी रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता हेर्न पाउने बताए। उनले खेल मैदानको रेखदेख र संरक्षणमा राखेपले निकै मेहनत गरेको भन्दै संरक्षणमा अब कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे।