काठमाडौं। दुई गोलको अग्रता जोगाउन नसक्दा मच्छिन्द्र फुटबल क्लब एन्फा यु-१८ युथ लिगमा विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरीमा रोकिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेल ३-३ को बराबरीमा सकिएको हो। योसँगै शीर्ष स्थानमा रहेको पुलिसले आठ खेलबाट २० अंक छ। समान खेलबाट १५ अंक जोडेको मच्छिन्द्र चौथो स्थानमा छ।
मच्छिन्द्रका पदम तामाङ, प्रशान्त मेन्याङ्बो र रोनिक रानामगरले गोल गरे। पुलिसका विक्रम गौतम, कप्तान सुवास बम र सुजलमान घलेले गोल फर्काए।
३०औं मिनेटमा पदमको गोलसँगै मच्छिन्द्रले सुरुआती अग्रता लिएको थियो। ५४औं मिनेटमा प्रशान्तले टोलीको अग्रता दोब्बर बनाए। तर, ७५औं मिनेटमा विक्रमले गोल गर्दै खेल २-१ मा ल्याए। ७७औं मिनेटमा रोनिकले गोल गर्दै मच्छिन्द्रलाई ३-१ ले अगाडि बढाए।
७९औं मिनेटमा अनिश थिङले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि मच्छिन्द्र १० खेलाडीमा समेटियो। निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा कप्तान सुवासले गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए। इन्जुरी समयमा सुजलले गोल गर्दै पुलिसलाई हारबाट जोगाए।