पथरी। मोरङको बूढीगंगास्थित हात्तीमुडामा सञ्चालित प्रथम मनसुन कप फुटबल प्रतियोगिताको बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा गोल्डेन स्टार युथ क्लब भलुवा विजयी भएको छ।
भलुवाले शान्ति स्पोर्टि्ङ क्लब इटहरीलाई २–१ गोल अन्तरले पराजित गरेको हो। विजयी टिमका लागि मोहम्मद अजमद र शुभम् गच्छेदारले गोल गरे। अजमदले दोस्रो हाफको ११ मिनेटमा र गच्छेदारले दोस्रो हाफको १८ मिनेटमा गोल गरेका थिए।
खेलमा अग्रता भने पराजित टिमले गरेको थियो। उसका तर्फबाट पहिलो हाफको २६ औं मिनेटमा मोहम्मद अमिरले गोल गरेका थिए। पहिलो सेमिफाइनलको म्यान अफ दि म्याच गोल्डेन स्टारका अंकित चौधरी घोषित भए। बिहीबारको दोस्रो सेमिफाइनलमा जुनियर फुटबल क्लब लखन्तरी मोरङ र गोल्डेन स्टार युथ क्लब (सिनियर) भलुवा सुनसरीबीच हुने आयोजकले जनाएको छ।