काठमाडौं। पाकिस्तानले बंगलादेशविरुद्धको दुई खेलको घरेलु टेस्ट शृंखलाका लागि शान मसुदको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको छ।
घरेलु क्रिकेट र पाकिस्तान शाहिन (ए)का लागि राम्रो प्रदर्शन गरेका ब्याट्सम्यान कामरान गुलाम र मोहम्मद हुरैरा टोलीका नयाँ अनुहार हुन् भने इमाम-उल-हक, फहीम अशरफ, मोहम्मद नवाज, नोमान अली र साजिद खानलाई टोलीबाट हटाइएको छ।
घाइते भएका तीव्र गतिका बलर हसन अली र मोहम्मद हसन जुनियरको नाम भने चर्चामा थिएन। चोटबाट निको भइरहेका तीव्र गति बलर नसिम शाह १३ महिनापछि टेस्ट क्रिकेटमा फर्किएका छन्।
मध्यक्रमका ब्याट्सम्यान साउद शकीललाई टोलीको उपकप्तान बनाइएको छ। उनले शाहीन शाह अफ्रिदीको स्थानमा टोलीको जिम्मेवारी सम्हाल्ने छ।
पाकिस्तानले अगस्ट २०२४ देखि अप्रिल २०२५ सम्ममा कुल ९ टेस्ट, १७ ओडिआई र १४ ट्वान्टी–२० खेल्नुपर्ने छ। यो निर्णयलाई ध्यानमा राखेर अफ्रिदीको कामको बोझ व्यवस्थापन गर्ने प्रयास गरिएको हो।
२०२३–२४ को घरेलु सिजनमा गुलामले ११ प्रथम श्रेणी खेलमा १०२५ रन बनाएका थिए। यसबाहेक पाकिस्तान शाहिनका लागि खेल्दा उनले बंगलादेश ए विरुद्ध पनि अविजित शतक बनाए। सन् २०२२–२३ मा न्युजिल्यान्डविरुद्धको घरेलु टेस्ट शृंखलामा पनि उनी टोलीमा थिए। तर, मौका पाएनन्।
हुरैराले हालै बंगलादेश ए विरुद्ध दोहोरो शतक बनाएका थिए। उनले पछिल्लो दुई प्रथम श्रेणी घरेलु सिजनमा क्रमशः १०२४ र ९६१ रन बनाएका छन्। उनी जुलाई २०२३ मा श्रीलंकाविरुद्धको पाकिस्तानी टेस्ट टोलीको सदस्य पनि थिए। तर, मौका पाएनन्।
तीव्र गतिका बलर मोहम्मद अलीले सन् २०२२ मा इङ्ल्यान्डविरुद्ध दुईवटा टेस्ट खेलेका थिए। त्यसयता उनले टोलीमा स्थान बनाउन सकेनन्। उनले यस वर्ष १४ प्रथम श्रेणी खेलमा ४७ विकेट लिएका थिए। बंगलादेशविरुद्धको इनिङ्समा उनले ९ विकेट लिएका थिए।
यस शृंखलाको पहिलो खेल २१ अगस्टबाट रावलपिण्डीमा सुरु हुनेछ। दोस्रो खेल ३० अगस्टदेखि ३ सेप्टेम्बरसम्म कराँचीमा हुनेछ।
पाकिस्तानी टोलीः
शान मसूद (कप्तान), साउद शकील (उपकप्तान), आमिर जमाल, अब्दुल्ला शफिक, अबरार अहमद, बाबर आजम, कामरान गुलाम, खुर्रम शहजाद, मिर हमजा, मोहम्मद अली, मोहम्मद हुरैरा, मोहम्मद रिजवान (विकेटकीपर), नसीम शाह, सैम अयुब, सलमान अली आगा, सरफराज अहमद (विकेटकिपर), शाहीन शाह अफ्रिदी।