काठमाडौं। स्पेनलाई पराजित गर्दै ब्राजिल पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलको उपाधिनजिक पुगेको छ।
स्टेड ओरेन्ज वेलोड्रोममा मंगलबार राति सम्पन्न खेलमा ब्राजिलले स्पेनलाई ४-२ ले पराजित गरेको हो। ब्राजिलले खेलको छैटौं मिनेटमै आत्मघाती गोल उपहार पाएको थियो। स्पेनकी इरेन परेड्सले आफ्नै पोस्टमा गोल गर्न पुगेकी थिइन्।
पहिलो हाफको इन्ज्युरी समयमा ब्राजिलकी गाभीले गोल गर्दै अग्रता दोब्बर बनाइन्। ७१औं मिनेटमा एड्रियाना लिलले गोल गर्दै ब्राजिलको अग्रता ३-० मा पुर्याइन्।
तर, ८५औं मिनेटमा सलमा पारल्युलोले गोल गर्दै खेल ३-१ मा ल्याए। इन्ज्युरी समयमा केरोलिनले ब्राजिलका लागि गोल थपिन्। स्पेनकी सलमाले पनि दोस्रो गोल गरेपनि जित दिलाउन सकिनन्।