काठमाडौं । ललितपुरको रुस्लान थ्री स्टार क्लब धनगढीमा जारी तेस्रो संस्करणको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनलमा मेची नेत्रालय फुटबल ट्रेनिङ सेन्टरलाई २–० गोल अन्तरले पराजित गर्दै थ्री स्टार उपाधि नजिक पुगेको हो ।
धनगढीस्थित क्षेत्रिय रंगशालामा भएको सेमिफाइनलमा थ्री स्टारलाई जित दिलाउन रुपेश केसी र सुनिल बलले समान एक एक गोल गरे ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भने थ्री स्टारले दुई गोल गर्दै फाइनल यात्रा तय गर्न सफल भयो ।
खेलको ६९ मिनेटमा थ्री स्टारले रुपेशको गोलबाट खेलमा अग्रता बनायो । डिबक्स बाहिरबाट रन्जन विष्टले बुद्ध चेम्जोङलाई मिलाएको पासमा बुद्ध चेम्जोङको सटिक हेडिङ पास किपर दिप कार्की बिट भएको अवस्थामा मिडफिल्डर रुपेशले गोल गरेका थिए ।
यस्तै खेलको ८१ मिनेटमा थ्री स्टारले अग्रता दोब्बर बनायो । थ्री स्टारका रन्जन विष्टलाई मेचीका खेलाडीले डिबक्स नजिकै फल गरेपछि पाएको फ्रिकिकमा सुनिलले गोल गर्दै थ्री स्टारलाई २ - ० को जित दिलाए । सुनिलको उत्कृष्ट फ्रिकिक नेत्रालयका किपर दिपले ठम्याउन सकेनन् ।
पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग सकिएसंगै थ्री स्टारले रिलिज गरेका डिफेन्डर विष्णु सुनुवार नेत्रालयको जर्सीमा पुर्व क्लबविरुद्ध मैदान उत्रिएका थिए ।
अब थ्री स्टारले उपाधिका लागि संकटा क्लब र नेपाल पुलिस क्लबबीचको विजेतासंग खेल्नेछ । फाइनल खेल माघ ५ गते हुनेछ ।
मोफसलकै सर्वाधिक धनराशीको प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् । उत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाईकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५-१५ हजार रुपैयाँ पाउने छन् ।