काठमाडौं। थ्री स्टार क्लबले एन्फा यु-१८ लिगमा तेस्रो जित हासिल गरेको छ।
मंगलबार भएको खेलमा थ्री स्टारले सातदोबाटो युथ क्लबलाई ३-० ले पराजित गरेको हो।
योसँगै थ्री स्टारले सात खेलबाट १० अंक जोडेको छ। सातदोबाटोको भने समान खेलबाट चार अंक रहेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको आठौं मिनेटमै सुनिल स्याङ्तानले गोल गरेका थिए। त्यसको ६ मिनेटपछि नै रोमन श्रेष्ठले अर्को गोल थपे। ५७औं मिनेटमा चित्रबहादुर नेपालले गोल गर्दै थ्री स्टारलाई ३-० को सहज जित दिलाए।