काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले सन् २०२७ को एकदिवसीय विश्वकप क्रिकेटको छनोट रोडम्यापका रूपमा लिइएको लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा हुने त्रिकोणात्मक शृंखलाको तयारी भारतमा गर्ने भएको छ।
नेपालले क्यानडासँगै र ओमानबीच शृंखला खेल्न लागेको हो। लिग–२ यो दोस्रो शृंखला हो। नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाका अनुसार टोलीले भारतमा कहाँ प्रशिक्षण गर्ने भन्ने अझैं टुंगो लागेको छैन। ‘हामीले भारतमा प्रशिक्षण गर्ने पक्का भइसकेको छ। तर, कहाँ गर्ने भन्नेबारे छलफलमै छौं। एक हप्ताभित्र टुंगो लगाउनेछौं,’ उनले भने।
यसअघि नेपालले एसिसी मेन्स प्रिमियर कपको तयारी गुजरातको वापीमा गरेको थियो। त्यतिखेर गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसिएसनसँग नेपालले एसएमएस फ्रेन्डसिप कप ट्वान्टी–२० प्रतियोगिता पनि खेलेको थियो।
सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टोलीले फिटनेस प्रशिक्षण सुरु गरेको छ। टोलीले एक हप्ता नेपालमै फिटनेस प्रशिक्षण गर्नेछ। त्यसपछि भने टोली भारत प्रस्थान गर्नेछ।