काठमाडौं। दिनेश कार्तिक दक्षिण अफ्रिका फ्रेन्चाइज क्रिकेट एसए ट्वान्टी–२० प्रतियोगितामा खेल्ने पहिलो भारतीय क्रिकेटर बन्ने भएका छन्। कार्तिक पाल रोयल्समा अनुबन्ध भएका छन्। एसए ट्वान्टी–२० जनवरी ९ बाट हुनेछ।
यसै वर्ष जुनमा कार्तिकले आफ्नो ३९ औं जन्मदिनमा सन्न्यासको घोषणा गरेका थिए। एसए ट्वान्टी–२० त्यसपछि कार्तिकको पहिलो प्रतियोगिता हुनेछ। कार्तिकले भारतका लागि १८० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले आफ्नो अन्तिम आईपीएल सिजन २०२४ मा रोयल च्यालेन्जर्स बैंगलोरबाट खेलेका थिए। बैंगलोरले उनलाई सन् २०२५ को आईपीएल सिजनका लागि मेन्टर तथा ब्याटिङ प्रशिक्षकका रूपमा अनुबन्ध गरेको छ।
रोयल्स फ्रेन्चाइजी क्रिकेटका निर्देशक कुमार संगकाराले कार्तिकलाई टोलीमा स्वागत गर्दै भने, दिनेश एक उत्कृष्ट आधुनिक भारतीय सीमित ओभरका खेलाडी हुन् र उनको अनुभवले हाम्रो टोलीलाई ठूलो मद्दत गर्नेछ। कार्तिक हाल स्काई स्पोर्ट्सका लागि द हन्ड्रेड कमेन्ट्री गर्दै छन्।
कार्तिकले हालसम्म कुल ४०१ ट्वान्टी–२० खेल खेलेका छन्। आईपीएलमा उनी कोलकाता नाइट राइडर्ससहित ६ टिमको हिस्सा भइसकेका छन्। कार्तिक आईपीएलका फिट खेलाडीमध्ये एक थिए। उनी पूरै १७ सिजनमा दुई खेलमा मात्रै अनुपस्थित थिए।
बीसीसीआईले रिटायर्ड भारतीय खेलाडीलाई मात्र विदेशी ट्वान्टी–२० लिग खेल्न अनुमति दिएको छ। गत वर्ष पूर्वभारतीय ब्याट्सम्यान अम्बाती रायुडुले क्यारेबियन प्रिमियर लिग खेलेका थिए। रोबिन उथप्पा र युसुफ पठानले २०२३ युएईको आइएलटी–२० दुबई क्यापिटल्सबाट खेलेका थिए। दुई वर्षअघि सुरेश रैनाले दुबई ट्वान्टी–१० प्रतियोगितामा पनि सहभागिता जनाएका थिए।
गत हप्ता पार्ल रोयल्सले कप्तान डेभिड मिलर, लुंगी एनगिडी र एन्डिले फेहलुकवायोसहित नयाँ सिजनअघि आफ्नो रिटेनमेन्ट घोषणा गरेको थियो। रोयल्स पछिल्लोपल्ट एसए ट्वान्टी–२० संस्करणमा क्वालिफायरमा पुगेको थियो।