काठमाडौं। सन् २००९ मा दक्षिण अफ्रिकाका लागि एकमात्र टेस्ट खेलेका इमरान खानलाई क्रिकेट दक्षिण अफ्रिका (सीएसए) ले ब्याटिङ प्रशिक्षक नियुक्त गरेको छ।
इमरान विगत पाँच वर्षदेखि डल्फिनका प्रशिक्षक थिए। इमरान अहिले अफ्रिकी टोलीसँग वेस्ट इन्डिजमा छन्। त्यहाँ उनले टोलीका मुख्य प्रशिक्षक शुक्री कोनराडसँग काम गरिरहेका छन्। यसअघि टोलीका ब्याटिङ प्रशिक्षक आश्वेल प्रिन्स थिए। तर, केही व्यक्तिगत कारणले उनी यो भ्रमणमा टोलीसँग छैनन्।
इमरान डल्फिनका प्रशिक्षकका रूपमा निकै सफल छन्। उनको टोलीले २०२०/२१ र २०२२/२३ मा चार दिने प्रतियोगिता जितेको थियो। यसबाहेक उनको टोली २०२०/२१ ओडिआई कपमा संयुक्त रूपमा विजयी भएको थियो।
इमरानको कोचिङ कार्यकालमा धेरै डल्फिन खेलाडी राष्ट्रिय टोलीमा आफ्नो स्थान बनाउन सफल भएका छन्। यी खेलाडीहरूमा किगन पिटरसन, केशव महाराज, सरेल इरवीजस्ता धेरै खेलाडीहरूको नाम समावेश छ।