काठमाडौं। महिला ट्वान्टी–२० विश्वकप यसै वर्षको अन्त्यतिर बंगलादेशमा हुँदैछ। तर, त्यहाँको राजनीतिक अवस्था हेर्दा यो प्रतियोगिता अन्य कुनै देशमा आयोजना हुने सम्भावना पनि छ।
यस्तो अवस्थालाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले भारत, युएई र श्रीलंकालाई वैकल्पिक स्थानका रूपमा पहिचान गरेको छ।
बंगलादेशमा विगत केही सातादेखि सरकार विरोधी आन्दोलन चलिरहेको छ, जसमा धेरैको मृत्यु भएको छ। आन्दोलन उग्र हुँदा सोमबार प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारत भागेकी थिइन्।
हाल सेना प्रमुख जनरल वकार–उज–जमानले अन्तरिम सरकार गठन गर्ने उद्देश्यले कार्यभार सम्हालेका छन्। ढाकाबाट करिब १५० किलोमिटर टाढा नराइलमा रहेको बंगलादेशका पूर्वकप्तान मशरफे मोर्तजाको घर प्रदर्शनकारीहरूले तोडफोड गरेका छन्। उनी हसिनाको अवामी लिग पार्टीका सदस्य हुन्।
१० टोलीको महिला ट्वान्टी–२० विश्वकपमा सहभागिता जनाउने छ। प्रतियोगिता अक्टोबर ३ देखि २० सम्म हुने तय छ। निर्धारित समय प्रतियोगिता आयोजना गर्न आईसीसीले अनौपचारिक रूपमा वैकल्पिक स्थान छनोट गरेको छ।
आईसीसीका एक अधिकारीका अनुसार बंगलादेशको अवस्थाको अनुगमन भइरहेको छ र सबै विकल्पहरू खुला राखिएको छ। 'आईसीसीले बंगलादेश क्रिकेट बोर्ड (बिसिबी), उनीहरूको सुरक्षा एजेन्सी र हाम्रा आफ्नै सुरक्षा सल्लाहकारहरूसँग यो सम्पूर्ण अवस्थालाई नजिकबाट निगरानी गरिरहेको छ। हाम्रो प्राथमिकतामा सबै सहभागीहरूको सुरक्षा हो," आईसीसीको विज्ञप्तिमा भनिएको छ।
सोमबारको घटनाक्रमपछि अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतका सरकारले आफ्ना नागरिकलाई बंगलादेश यात्रा नगर्न ट्राभल एडभाइजरी जारी गरेका छन्। यी तीन देशले ट्वान्टी–२० विश्वकपमा पनि सहभागिता जनाउने छन्।
भारत र श्रीलंका छोटो समयमा बहुराष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम छन्। यति हुँदाहुँदै पनि केही प्रश्नहरू बाँकी छन्। अक्टोबरमा श्रीलंकामा वर्षा हुने खतरा छ भने भारतसँग भिसाको समस्या छ। जसका कारण पाकिस्तानी टोलीलाई समस्या हुन सक्छ।
यसैबीच बिसिबीले बंगलादेश ए टोलीको पाकिस्तान भ्रमण ४८ घण्टाका लागि स्थगित गरेको छ। ढाका एयरपोर्ट सोमबार साँझ ६ बजेदेखि मध्यरातसम्म बन्द थियो र मंगलबार पनि निर्धारित समयमा यात्रा सम्भव छ कि छैन भन्ने निश्चित छैन।