एजेन्सी । इटालियन सुपर कप फुटबलको फाइनल खेल आज (बुधबार) राति हुँदैछ । र, उपाधिका लागि दुई ठुला प्रतिद्वन्द्वी युभेन्ट्स र एसी मिलान प्रतिस्पर्धा गर्दैछन् ।
साउदी अरेबियामा हुने फाइनल खेल नेपाली समय अनुसार राति ११ :१५ मा सुरु हुनेछ । फाइनलका लागि मैदान उत्रदै गर्दा दुवै टोलीको लक्ष्य सिजनको पहिलो उपाधि उचाल्नु हुनेछ ।
लिग लिडर युभेन्ट्स यस सिजन निकै लयमा रहेको छ । युभेन्ट्ससंग क्रिस्टियानो रोनाल्डो, पाउल डिबाला, मारियो मान्डुज्की जस्ता खेलाडीको साथ रहेको छ । त्यसैले युभेन्ट्स पहिलो उपाधि जित्न आतुर रहेको छ ।
यता, लिगमा मध्यम प्रदर्शन गरिरहेको मिलान युभेन्ट्सलाई स्तब्ध बनाउदै सिजनको पहिलो उपाधि जित्ने लक्ष्यमा हुनेछ । लिगको पाँचौ स्थानमा रहेको मिलानसंग युभेन्ट्सकै पुर्व स्ट्राइकर गोन्जालो हिगुईन जस्ता खेलाडीको साथ रहेको छ ।
दुवै टोली इटालिया सुपर कपको सर्वाधिक सफल टोली हो । दुवैले अहिलेसम्म समान ७/७ उपाधि जितेका छन् ।
यस संस्करणको उपाधि जित्ने टोलीले आठौं पटक जित्दै कीर्तिमान बनाउने छन् ।