काठमाडौं। तेस्रो नम्बरमा आएका रविचन्द्रन अश्विनको ४६ बलमा ५२ रनको इनिङ्ससँगै डिन्डिगुल ड्र्यागनले तमिलनाडु प्रिमियर लिग (टीएनपीएल) को उपाधि जितेको छ। टीएनपीएलको यो सिजनमा अश्विनको यो लगातार तेस्रो अर्धशतक हो।
लायक कोभाई किंग्स लगातार तेस्रोपल्ट टीएनपीएलको फाइनल पुगेको थियो। तर, पहिले ब्याटिङ गरेको यो टोलीले सात विकेट गुमाएर १२९ रन मात्रै बनाउन सक्यो। डिन्डिगुलका लागि सन्दीप वारियर, वरुण चक्रवर्ती र पी विग्नेशले २–२ विकेट लिए। अश्विनले पनि आफ्नो चार ओभरमा १३ रन मात्र दिए। कोभाईको टोलीलाई न्यून स्कोरमा सीमित गरेपछि जवाफमा डिन्डिगुलले १० बल बाँकी रहँदा ६ विकेटको जित हात पार्यो।
पहिले ब्याटिङ गरेको कोभाईको टोलीले राम्रो सुरुवात गर्दै पहिलो पाँच ओभरमा मात्र एक विकेट गुमाएर स्कोरबोर्डमा ४८ रन जोडेको थियो। तर, पावरप्लेको अन्तिम ओभरमा वरुणले लगातार दुई विकेट लिए। क्वालिफायर १ मा १२३ रनको अविजित इनिङ्स खेलेका साई सुदर्शनले लय समात्न सकेनन्। उनी सिधै ब्याकवर्ड पोइन्टमा क्याच आउट भए। सुदर्शनको विकेटपछि कोभाईको टोलीले ५१ रनको स्कोरमा चार विकेट गुमाएको थियो।
यसपछि अतीकुर रहमान र राम अरविन्दबीच २८ बलमा ३६ रनको साझेदारी भयो। तर, सुब्बोत भाटीले यो साझेदारी तोडेपछि कोभाईले पुनरागमन गर्न सकेन। उसका कप्तान शाहरुख खानले पनि फाइनलमा आफ्नो छाप छोड्न सकेनन्।
तर, सुरुमा डिन्डिगुललाई लक्ष्य पछ्याउन सहज भएन। उसकाका दुबै ओपनिङ १५ बलमै प्याभिलियन फर्किए। तर, यसपछि अश्विन र इन्दरजीतले ६५ बलमा ६५ रनको साझेदारी गरेपछि डिन्डिगुल खेलमा फर्कियो। अश्विनले आफ्नो इनिङ्समा एक चौका र तीन छक्का प्रहार गरे। अन्त्यमा सरत कुमारले १५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २७ रन बनाएर डिन्डिगुलको जित सुनिश्चित गरे।
अश्विनलाई प्लेयर अफ द म्याच भए। शाहरुखलाई उनको अलराउन्ड प्रदर्शनका लागि प्लेयर अफ द सिरिज घोषित गरियो। शाहरुखले यस संस्करणमा १८२.९२ को स्ट्राइक रेटमा २२५ रन बनाएका थिए भने बलिङमा पनि १३ विकेट लिए।