काठमाडौं। टोनी क्रुस सन् २०२३–२४ को सिजनका लागि जर्मनीका प्लेयर अफ द इयर घोषित भएका छन्। बायर लेभरकुजेनलाई बुन्डेसलिगाको उपाधि जिताए जाबी अलोन्सो भने कोच अफ द इयर बने।
जर्मन स्पोर्ट्स म्यागजिन किकरले आयोजना गर्ने अवार्डमा उनी सन् २०१८ मा पहिलोपल्ट प्लेयर अफ द इयर घोषित भएका थिए। ३४ वर्षीय क्रुसले दोस्रोपल्ट अवार्ड जितेका हुन्।
गत सिजन रियल मड्रिडलाई च्याम्पियन्स लिग र स्पेनिस लिगमा दोहोरो जित दिलाएका क्रुसले गत महिना युरो कप विजेता स्पेनसँग पराजित भएपछि आफ्नो उत्कृष्ट खेल जीवनबाट सन्न्यास लिएका थिए
किकरका अनुसार क्रुसले २८५ मत प्राप्त गरेका थिए। लेभरकुजेन तथा जर्मनीका फ्लोरियन विर्ट्जले २४६ मत प्राप्त गरेका थिए भने स्विट्जरल्यान्डका मिडफिल्डर ग्रानिट जाकाले ६६ मत प्राप्त गरे।
बायर्न म्युनिखको ११ वर्षको बुन्डेसलिगा दौड समाप्त गर्दै लेभरकुजेनले पहिलो उपाधि जितेको थियो। सिजनका सबै खेलमा लेभरकुजेन अपराजित रह्यो। अलोन्सोले पहिलोपल्ट कोच अफ द इयर घोषित भए। लेभरकुजेनले जर्मन कप पनि जितेको थियो।
सन् २०२२ को अक्टोबरमा बुन्डेसलिगामा पुछारबाट दोस्रो स्थानमा रहेर लेभरकुजेनको प्रशिक्षकको जिम्मेवारी सम्हालेका ४२ वर्षीय अलोन्सोले ५०३ मत प्राप्त गर्दै स्टुटगार्टका प्रशिक्षक सेबास्टियन होएनी (४२) र हेडेनहाइमका प्रशिक्षक फ्रान्क श्मिट (५०) लाई पछि पारेका थिए।
स्टुटगार्ट बुन्डेसलिगामा दोस्रो स्थानमा थियो भने हेडेनहाइमले आफ्नो पहिलो शीर्ष उडान सिजनमा आठौं स्थान हासिल गरेको थियो।