काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप लिग-२ अन्तर्गत आगामी सेप्टेम्बरमा क्यानडामा हुने त्रिकोणात्मक सिरिजका लागि बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडीको नाम घोषणा गरेको छ।
क्यानले आइतबार घरेलु टोलीसँगै नेपाल र ओमानबीच हुने सिरिजका लागि २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो। देव खनाल, भीम सार्की, आरिफ शेख, रिजन ढकाल, सूर्य तामाङ, बसिर अहमद, आकाश चन्द र अर्जुन साउदलाई टोलीमा बोलाइएको छ।
तर, यसअघि आइसिसी ट्वान्टी-२० विश्वकपमा सहभागी भएका प्रतिश जिसी र अभिनास बोहराले स्थान बनाउन सकेनन् । नाबालिक बलात्कारको आरोप खेपेका लेग स्पिनर सन्दीप लामिछानेले पाटन उच्च अदालतबाट सफाइ पाएपछि अन्तिम समयमा प्रतिशलाई विश्वकप खेल्ने टोलीबाट हटाइएको थियो। यद्यपि, विश्वकपभरी प्रतिश नेपाली टोलीसँग रहेका थिए।
अभिनासले भने विश्वकपका समूहचरणमा तीन खेल खेलेका थिए। यद्यपि, उनी सबैभन्दा महंगो बलर सावित भए। उनले तीन इनिङ्समा ७.४ ओभर बलिङ गर्दै ५८ रन खर्चिएर एक विकेट मात्रै लिन सकेका थिए।
उनले नेदरल्यान्ड्सविरुद्ध ३.४ ओभर बलिङ गर्दै २९ रन खर्चिएर एक विकेट लिएका थिए। यस्तै, दक्षिण अफ्रिकाविरुद्ध तीन ओभर बलिङ गर्दै १९ रन खर्चिएपनि उनी विकेटविहीन भए।
बंगलादेशविरुद्ध भने उनले एक ओभर मात्रै बलिङ गर्न पाए। जसमा १० रन खर्चिए। यस खेलमा पनि उनी विकेटविहीन रहे।