काठमाडौं । बहुप्रतिक्षित क्रिकेट फ्रेन्चाईज लिग नेपाल क्रिकेट लिग (एनपीएल)का लागि टिम किन्न सूचना जारी भएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार सार्वजनीक सूचना जारी गरेर फ्रेन्चाईज टिमको स्वामित्व लिनका लागि दर्खास्त माग गरेको हो ।
क्यानले आगामी नोभेम्बर-डिसेम्बरमा फ्रेन्चाईज क्रिकेट एनपीएलको सुरुवात गर्ने घोषणा गरेको छ । सोही अनुसार तयारी थालेको क्यानले टिमको स्वामित्वका लागि सार्वजनीक सूचना माग गरेको हो । टिमको सन्दर्भमा क्यानले अनौपचारिक रुपमा देशी तथा विदेशी सम्भावित ब्यक्ति-संस्थासँग अनौपचारिक संवाद सुरु गरिसकेको थियो ।
शुक्रबार जारी सूचनामा विदेशी कम्पनीले नेपाली कम्पनीलाई साझेदार बनाएर एनपीएलको टिमको टेण्डर प्रकृयामा सहभागी हुन पाउने जनाएको छ ।
टिमको स्वामित्व लिनका लागि ब्यक्ति तथा कम्पनीले १ लाख रुपैयाँ (फिर्ता नपाउने) रकम सहित क्यानमा निवेदन दिन सक्नेछन् । प्रस्तावहरु अगष्ट १६ भित्र आईसक्न पर्ने क्यानले जनाएको छ । कुनै ब्याख्या र औचित्य पुष्टि बिनै टिमको स्वामित्व दिने सम्पुर्ण अधिकार क्यानले आफुसँग रहने सूचनामा जानकारी गराएको छ ।
यसअघि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई क्यानले फ्रेन्चाईज लिग सञ्चालनको अनुमती दिएको थियो । पहिलो संस्करण फिक्सिङ र अनेकौं विवादमा फसेपछि सो सम्झौतालाई क्यानले रद्ध गरेको थियो । त्यसपछि क्यानले आफै फ्रेन्चाईज क्रिकेट लिग सञ्चालन गर्ने निर्णय गरेको थियो ।