एजेन्सी । युभेन्ट्सका इटालियन डिफेन्डर जर्जियो चिलेनीले टिम मेट क्रिस्टियानो रोनाल्डोले धेरै पटक आफ्नो सपना तोडेको बताएका छन् ।
चिलेनीले बीबीसी स्पोर्ट्ससंग कुरा गर्दै रोनाल्डोले युभेन्ट्स आउनु अघि आफ्ना धेरै सपना तुहाएको बताएका हुन् । चिलेनीले रोनाल्डोको उत्कृष्ट खेल प्रदर्शनले युभेन्ट्सबाट आफ्नो च्याम्पियन्स लिग जित्ने सपना पुरा नभएको बताए ।
'रोनाल्डोले हामीविरुद्ध धेरै धेरै पटक गोल गरे । उनले मेरो सपना धेरै पटक तोडेको छ', चिलेनीले भने ।
पाँच पटकको बालोन डी'ओर विजेता रोनाल्डोले स्पेनिस क्लब रियल मड्रिडमा रहदा युभेन्ट्सविरुद्धको खेलमा पटक पटक गोल गरेका छन् । सन् २०१७ को च्याम्पियन्स लिगको फाइनलमा रोनाल्डोले दुई गोल गरेपछि युभेन्ट्सको उपाधि जित्ने सपना तुहिएको थियो ।
गत सिजन रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेपछि युभेन्ट्स सेमिफाइनलबाटै बाहिरिएको थियो । तर, यस सिजन भने रोनाल्डो रियलबाट युभेन्ट्स पुगेका छन् ।
यस्तै डिफेन्डर चिलेनीले रोनाल्डो क्लबमा आएपछि च्याम्पियन्स लिग सपना पुरा हुने विश्वास रहेको बताए । चिलेनीले च्याम्पियन्स लिग जित्नका लागि रोनाल्डोलाई सघाउने समेत बताए ।
'च्याम्पियन्स लिग सपना हो । रोनाल्डो विश्वकै उत्कृष्ट खेलाडी हुन् । अहिले उहा हामीसंग रहेका छन् ,' चिलेनीले भने,'रोनाल्डो आएपछि टिम निकै परिवर्तन भएको छ । हामीले उनलाई सहयोग गर्नु पर्छ ।'