काठमाडौं। ट्वान्टी–२० शृंखलामा श्रीलंकालाई ३–० ले हराएपछि भारतले शुक्रबार एकदिवसीय शृंखलाको पहिलो खेल खेल्दैछ।
खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा दिउँसो २:४५ बजे सुरु हुनेछ। श्रीलंकाको टोली घाइते मथिश पाथिरानासहित चार प्रमुख तीव्रगतिका बलरबिना मैदान उत्रिँदैछ।
यता, भारतले ट्वान्टी–२० शृंखला खेलका ६ खेलाडीलाई आराम दिएको छ। उनीहरूको स्थानमा कप्तान रोहित शर्मा, विराट कोहली र कुलदीप यादवसँगै विकेटकिपर केएल राहुल, हर्षित राना र श्रेयस अय्यरजस्ता अनुभवी खेलाडी मैदान उत्रिनेछन्।
एकदिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियासँग पराजित भएपछि (७ महिनापछि) रोहित र विराट दुवैले आफ्नो पहिलो एकदिवसीय खेल्नेछन्।
दुवैले आफ्नो अन्तिम एकदिवसीय १९ नोभेम्बर २०२३ मा अस्ट्रेलियाविरुद्ध खेलेका थिए। भारतको एकदिवसीय प्लेइङ–११ तय भइसकेको छ। जसप्रित बुमराह र मोहम्मद शामीको अनुपस्थितिमा नयाँ खेलाडीलाई मौका मिल्न सक्छ। हर्षित राणाले डेब्यु गर्न सक्नेछन्।
अर्कोतर्फ ऋषभ पन्त नोभेम्बर २०२२ पछि पहिलो एकदिवसीय खेल्ने देखिनेछन्। यस्तो अवस्थामा उनलाई प्लेइङ–११ मा समावेश गर्ने कि नगर्ने भन्ने ठूलो प्रश्न छ ? किनभने केएल राहुल एकदिवसीय टोलीमा पहिलो रोजाइको विकेटकिपरका रूपमा स्थापित भएका छन्।
टोली व्यवस्थापनले अनुभवी राहुललाई साथ दिन सक्छ। एसिया कपपछि राहुलको प्रदर्शन उत्कृष्ट रहेको छ। उनको कप्तानीमा भारतले पछिल्लो शृंखलामा पनि दक्षिण अफ्रिकालाई हराएको थियो।