काठमाडौं। जावलाखेल युथ क्लबलाई पराजित गर्दै ललित स्मृति एन्फा यु–१८ युथ लिगमा थ्री स्टार क्लबले दोस्रो जित हासिल गरेको छ। थ्री स्टार १५ मिनेटभित्रै दुई गोल गर्न सफल भएको थियो। ती दुवै गोल रोमन श्रेष्ठले गरेका हुन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो खेलमा महेश दर्लामीले दिएको लामो पासलाई जावलाखेलका डिफेन्डर ग्रेमन श्रेष्ठ र गोलरक्षक विकाश विष्टले रोक्ने प्रयास गरेका थिए। तर, उनीहरू सफल नहुँदा डी बक्स लाइनबाट बाहिरिन लागिसकेको बललाई नियन्त्रणमा लिँदै रोमन गोल गर्न सफल भए।
उनले गरेको प्रहार जावलाखेलका समीर दर्लामीको खुट्टामा डिफेल्क्ट हुँदै गोलमा परिणत भयो।त्यसको चार मिनेटपछि नै जावलाखेलका प्रशान्त तामाङले अर्को गल्ती गर्न पुगे।
बल लिएर अगाडी बढ्दै गरेका रोमनलाई रोक्ने क्रममा जर्सीमा तानेको भन्दै रेफ्री दीपक श्रेष्ठले फ्रिकिक दिए। डी बक्सनजिकबाट रोमनले फस्ट बार च्याप्दै प्रहार गरेको बललाई गोलरक्षक विकाशले बचाउने प्रयार गरेपनि सफल हुन सकेनन्।
हारसँगै जावलाखेलले दुई स्थान सुधार गर्ने मौका गुमाएको छ। जावलाखेलको ६ खेलबाट पाँच अंक रहेको छ। समान खेलबाट सात अंक जोडेको थ्री स्टार जावलाखेललाई उछिन्दै सातौं स्थानमा पुगेको छ। जावलाखेल भने छैटौं स्थानमा झरेको छ।