काठमाडौं। महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आइपिएल) भविष्यबारे निर्णय गर्न पर्ख र हेरको नीति अपनाएका छन्।
आईपीएल गभर्निङ काउन्सिलले २०२५ सिजनअघि अक्सन र रिटेन्सनको योजना तयार गरिरहेको छ। यस्तो अवस्थामा धोनीले अर्को सिजन खेल्ने या नखेल्ने भन्ने विषयमा कुनै निर्णय लिनुअघि उनी रिटेनसनमा के परिवर्तन हुन्छ हेर्न चाहन्छन्।
जुलाईमा ४३ वर्ष पुगेका धोनीले हैदरावादमा भएको एक कार्यक्रममा भने, ‘अझै धेरै समय बाँकी छ। रिटेन्सन आदिको बारेमा के निर्णय हुन्छ हेर्नुपर्छ। एक पटक नियम जारी भएपछि म निर्णय लिन्छु।’
आईपीएल गभर्निङ काउन्सिलले बुधबार साँझ मुम्बईमा फ्रेन्चाइज मालिकहरूसँग छलफल गरेको थियो। छलफल नयाँ नियममा केन्द्रित रहेको बताइन्छ। बैठकको एजेन्डमा खेलाडीलाई प्रभाव पार्ने नियम, कति खेलाडी कायम राख्ने र कति वर्षमा मेगा अक्सन गर्ने आदि विषयमा छलफल भएको थियो।
धोनीको आईपीएल भविष्य प्रायः सिजनको अन्त्यमा चर्चा हुने गरेको छ। यस वर्षको सुरुमा चेन्नई सुपर किंग्सको कप्तानी उनले रुतुराज गायकवाडलाई सिजन सुरु हुनुअघि सुम्पिएका थिए। तर, गायकवाडको कप्तानीमा चेन्नई प्लेअफमा पुग्न सकेन। १४ अंकसहित चेन्नई पाँचौं स्थानमा रह्यो।