काठमाडौं। इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीलाई २२ पटक नियम उल्लंघन गरेको भन्दै २० लाख पाउन्ड (२५ लाख अमेरिकी डलर) भन्दा बढी जरिवाना गरिएको छ।
पछिल्लो दुई सिजनमा किकअफ र रिस्टार्ट नियम उल्लंघन गरेको सिटीले स्वीकार गरेको छ। सिटीले इङ्लिस प्रिमियर लिगको नियम एल–३३ को उल्लंघन गरेको बताइएको छ।
सिटीलाई प्रत्येक अपराधको लागि स्लाइडिंग स्केलमा दण्डित गरिएको छ। सन् २०२२ को अगस्टमा क्रिस्टल प्यालेसविरुद्धको दोस्रो हाफको सुरुआतमा १ मिनेट १८ सेकेन्ड ढिला गरी मैदान प्रवेश गरेको भन्दै पहिलोपल्ट चेतावनी दिइएको थियो।
त्यसपछि प्रत्येक उल्लंघनका लागि जरिवाना लगाइएको छ। गत सिजन वेस्ट ह्यामविरुद्धको अन्तिम लिग खेल सुरु हुन २ मिनेट ४६ सेकेन्ड ढिला भएको थियो। सिटीलाई सिजनमा १४औं पटक नियम उल्लंघन गरेको भन्दै दुई लाख पाउण्ड (दुई लाख ५६ हजार अमेरिकी डलर) जरिवाना गरिएको थियो।
सिटीलाई कुल २० लाख ९० हजार पाउण्ड जरिवाना गरिएको छ।