काठमाडौं । थाइल्याण्ड महिला टी -ट्वान्टी स्म्यास क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले थाइल्याण्ड 'ए' बाट जितका लागि २० रनको लक्ष्य पाएको छ ।
बैंकमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्ड 'ए' १५ ओभर ४ बलमा अलआउट हुँदै १९ रनमा समेटियो ।
थाइल्याण्डकी थान्चानोक फोप्लुकले सर्वाधिक ४ रन जोडिन । त्यस्तै वार्ली सिनसोङले ३ रन बनाईन् । थाइल्याण्डले ७ रन अतिरिक्त रन पाएको थियो ।
थाइल्याण्डलाई सस्तैमा समेट्न आरती बिडारीले ३ विकेट लिईन् । यस्तै इन्दु बर्मा र सरिता मगरले २/२ विकेट आफ्नो नाममा लेखाईन ।
अघिल्ला तीन खेलमा लगातार जित निकालेर सेमिफाइनलमा प्रवेश गरिसकेको नेपालले अन्तिम खेलमा थाइल्याण्ड 'ए' संग प्रतिस्पर्धा गरिरहेको हो ।
प्रतियोगिताको समूह 'ए' मा रहेको नेपाल घरेलु टोलीलाई हराएर समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गर्न चाहन्छ । नेपाल ३ खेलबाट ६ अंक जोडेर समूहको दोस्रो स्थानमा छ ।
चार खेलमा ६ अंक जोडेको युएई शीर्ष स्थानमा छ । थाइल्याण्ड 'ए' लाई हराएमा नेपाल अपराजित रहदै सेमिफाइनलमा पुग्नेछ । प्रतियोगिताबाट बाहिरिसकेको थाइल्याण्ड 'ए' को २ अंक छ ।
नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा नेपालले युएईलाई ६ विकेटले हराएको थियो ।