काठमाडौं। रियल मड्रिड प्रि सिजन क्लब मैत्रीपूर्ण खेलमा एसी मिलानसँग पराजित भएको छ।
स्लोजर फिल्ड, सिकागोमा बिहीबार बिहान भएको खेलमा इटालिन क्लब मिलानसँग ला लिगा र च्याम्पियन्स लिग च्याम्पियन रियल १-० गोलअन्तरले पराजित भएको हो।
मिलानका लागि स्यामुयल चुक्वेजे गरेको गोल निर्णायक रह्यो। उनले खेलको ५५औं मिनेटमा गोल गरेका थिए। यसै खेलबाट १८ वर्षीय ब्राजिलियन फरवार्ड एन्ड्रिकले रियलमा डेब्यू गरेका छन्।
ला लिगा क्लबले सन् २०२२ मा साओ पाउलोस्थित पाल्मेरासबाट एन्ड्रिकलाई अनुबन्ध गर्न सम्झौता गरेको थियो। उनी जुलाईमा १८ वर्षको भएपछि रियलले ६ वर्षको सम्झौता गर्दै भित्र्याएको थियो।
रियलले अगस्ट ४ मा बार्सिलोना र अगस्ट ७ मा चेल्सीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने छ। त्यस्तै, अगस्ट १५ मा एटलान्टासँग युइएफए सुपर कपको फाइनल खेल्नेछ।