काठमाडौं। नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध भ्यानकुभर नाइट्स ग्लोबल ट्वान्टी–२० क्यानडा क्रिकेट लिगमा पराजित भएको छ।
बुधबार बिहान भएको खेलमा ब्राम्पटन वुल्भ्ससँग भ्यानकुभर ६ विकेटले पराजित भएको हो। यो भ्यानकुभरको चौथो हार हो। पहिलो खेलमा टोरेन्टो नेसनलसँग आठ विकेटले पराजित भएको भ्यानकुभर नाइट्स दोस्रो खेलमा बंगला टाइगर्ससँग २२ रनले स्तब्ध भयो।
यस्तै, तेस्रो खेलमा भने जितनजिक पुगेर पनि मन्ट्रियल टाइगर्ससँग भ्यानकुभर नाइट्स १० रनले पराजित हुन पुगेको थियो। जितसँगै ब्राम्पटनले चार खेलबाट चार अंक जोडेको छ। समान खेल खेलेको भ्यानकुभर अंकविहीन रहेको छ। लिगमा भ्यानकुभर अंकविहीन रहने एक्लो टोली हो।
भ्यानकुभरले दिएको १५० रनको लक्ष्य ब्राम्पटनले ११ बल बाँकी रहँदा चार विकेट गुमाएर पूरा गर्यो। ब्राम्पटनका ब्यू वेभस्टरले अविजित रहँदै सर्वाधिक ४९ रन बनाए।
३७ बल खेलेका उनले दुई चौका र तीन छक्का प्रहार गरे। कप्तान डेभिड वार्नर २५ र जर्ज मुन्से २० रनमा आउट हुँदा निक होब्सन ३७ रनमा अविजित रहे।
ड्वेन प्रिटोरियस, ऋषिभ जोशी र सन्दीप लामिछानेले समान एक विकेट लिए। दीपेन्द्रसिंह ऐरीले चार ओभरमा १८ रन खर्चिएपनि विकेट लिन सकेनन्।
त्यसअघि टस जितेर ब्याटिङ थालेको भ्यानकुभरले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १४९ रन बनाएको थियो।भ्यानकुभरका रिची बेरिंगटनले सर्वाधिक ३८ रन बनाए।
२५ बल खेलेका उनले अपराजित रहँदै तीन चौका र दुई छक्का प्रहार गरे। रिजा हेन्ड्रिक्स २७, मुनिर अहमद २१ र उस्मान ख्वाज १७ रनमा आउट हुँदा आसिफ अली ३६ रनमा अविजित रहे।
ब्राम्पटनका थोमस ड्राकाले सर्वाधिक दुई विकेट लिए। एन्ड्रयु टाई र ब्यू वेभस्टरले समान एक विकेट लिए।