काठमाडौं। इङ्ल्यान्डका सीमित ओभरका प्रशिक्षक म्याथ्यु मोटले राजीनामा दिएका छन्।
मोटलाई सन् २०२२ मा चार वर्षे कार्यकाल सुम्पिइएको थियो। तर, उक्त कार्यकाल समाप्त हुनु आधा बाँकी रहँदा उनले राजीनामा दिएका हुन्।
उनको कार्यकालमा आइतबार मोटले इङ्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी) का प्रबन्ध निर्देशक रोब कीलाई भेटेका थिए। पछिल्लो नौ महिनामा टोलीको खस्किएको प्रदर्शनबारे कुराकानी भएको बताइन्छ।
इङ्ल्यान्डले २०२२ को ट्वान्टी–२० विश्वकप जितेको थियो। यद्यपि, इङ्ल्यान्ड २०२३ को एकदिवसीय विश्वकपमा उपाधि रक्षा गर्न असफल भयो। उक्त विश्वकपमा इङ्ल्यान्डले नौमध्ये तीन खेल मात्र जित्न सकेको थियो।
मोटको स्थानमा मार्कस ट्रेस्कोथिकले कार्यवहाक प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने छन्। उनी सहायक प्रशिक्षक थिए। इङ्ल्यान्डले सेप्टेम्बरमा अस्ट्रेलियासँग तीन ट्वान्टी–२० र पाँच एकदिवसीय सिरिज खेल्नेछ।
मोटको प्रशिक्षणमा इङ्ल्यान्डले सीमित ओभरमा अस्ट्रेलिया, बंगलादेश, आयरल्यान्ड, नेदरल्यान्ड्स, न्युजिल्यान्ड र पाकिस्तानलाई पराजित गरेको थियो। तर, ट्वान्टी–२० विश्वकपमा इङ्ल्यान्ड सेमिफाइनलमा भारतसँग पराजित भयो। मोटको राजीनामाको मुख्य कारण यही मानिन्छ।
इङ्ल्यान्डको सीमित ओभरको प्रशिक्षक बन्ने दौडमा एन्ड्रयु फ्लिन्टफ, माइक हसी र कुमार संगकारा छन्। हसी सन् २०२२ को ट्वान्टी–२० विश्वकपमा इङ्ल्यान्ड कोचिङ स्टाफमा पनि थिए। इङ्ल्यान्डका पूर्वविश्वविजेता कप्तान ओएन मोर्गनको नाम पनि दौडमा थियो तर उनले आफैंले यी अनुमानलाई अस्वीकार गरेका छन्।