काठमाडौं । तेस्रो संस्करणको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको पहिलो सेमिफाइनलमा आज (बुधबार) रुस्लान थ्री स्टार क्लब र मेची नेत्रालय ट्रेनिङ फुटबल सेन्टरले प्रतिस्पर्धा गर्दैछन् ।
धनगढीस्थित क्षेत्रीय रंगशालामा हुने थ्री स्टार र मेचीबीचको पहिलो सेमिफाइनल खेल अपरान्ह साढे २ बजे हुनेछ ।
हालै सम्पन्न सहिद स्मारक 'ए' डिभिजन लिगमा तेस्रो स्थान हात पारेको थ्री स्टार मेची नेत्रालयलाई हराउँदै पहिलो पटक फाइनल यात्रा तय गर्ने दाउमा हुनेछ । तर, 'ए' डिभिजन खेल्ने खेलाडीको बाहुल्यता रहेका मेचीविरुद्ध थ्री स्टारलाई सहज भने हुने छैन ।
पहिलो सेमिफाइनलको विजेताले संकटा क्लब र नेपाल पुलिस क्लबबीचको विजेतासंग खेल्नेछ । फाइनल खेल माघ ५ गते हुनेछ ।
प्रतियोगिता मेची नेत्रालय आयोजक सुदुरपश्चिम -११ र सशस्त्र प्रहरी बलको एपिएफलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । बाई पाएर सिधै क्वाटरफाइनल खेलेको थ्री स्टारलले च्यासल युथलाई १-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो ।
मोफसलकै सर्वाधिक धनराशीको प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् । उत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाईकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५-१५ हजार रुपैयाँ पाउने छन् ।