काठमाडौं। नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध भ्यानकुभर नाइट्सले ग्लोबल ट्वान्टी–२० क्यानडा क्रिकेट लिगमा बुधबार ब्राम्पटन वुल्भ्ससँग प्रतिस्पर्धा गर्दैछ।
खेल राति १:४५ बजे सुरु हुनेछ। लिगका तीन खेल सकिँदा भ्यानकुभर नाइट्स मात्रै जितविहीन छ।
पहिलो खेलमा टोरेन्टो नेसनलसँग आठ विकेटले पराजित भएको भ्यानकुभर नाइट्स दोस्रो खेलमा बंगला टाइगर्ससँग २२ रनले स्तब्ध भयो। यस्तै, तेस्रो खेलमा भने जितनजिक पुगेर पनि मन्ट्रियल टाइगर्ससँग भ्यानकुभर नाइट्स १० रनले पराजित हुन पुग्यो।
त्यसैले ब्राम्पटनविरुद्धको खेलमा भ्यानकुभर नाइट्स पहिलो जितको खोजिमा हुनेछ। ब्राम्पटनको भने दुई अंक छ।
पहिलो खेलमा सर्रे जगुआरलाई ५९ रनले पराजित गरेको ब्राम्पटन त्यसपछिका दुई खेलमा टोरेन्टो (आठ विकेट) र मन्ट्रियल टाइगर्स (४२ रन)सँग पराजित भएको थियो।