काठमाडौं। दक्षिण अफ्रिकाको फ्रेन्चाइज ट्वान्टी–२० लिग एसए २० फ्रेन्चाइजी प्रिटोरिया क्यापिटल्सको नयाँ मुख्य प्रशिक्षकमा जोनाथन ट्रोट नियुक्त भएका छन्। उनले गत महिना राजीनामा दिएका ग्राहम फोर्डको स्थान लिनेछन्।
सन् २०२२ देखि ट्रोट अफगानिस्तानका मुख्य प्रशिक्षक छन् । यसै वर्षको जनवरीमा उनको मुख्य प्रशिक्षकको कार्यकाल थपिएको थियो । तर, उनी अफगानिस्तानको मुख्य प्रशिक्षकमा रहने वा नरहने भन्नेमा अहिले अनिश्चितता छ । एसए २० जनवरी २०२५ बाट सुरु हुनेछ। त्यसैले उनको नयाँ भूमिकाले अफगानिस्तान टोलीप्रतिको जिम्मेवारीलाई अहिलेको लागि बाधा पुग्ने छैन।
प्रिटोरियाले दोस्रो सिजनमा राम्रो प्रदर्शन गर्न सकेको थिएन। उसले तीन खेलमात्रै जितेको थियो। पहिलो संस्करणमा भने प्रिटोरिया उपविजेता बनेको थियो।
ट्रोटको उपस्थितिमा अफगानिस्तानले विश्वस्तरमा छाप छोड्न सफल भएको छ। २०२३ को एकदिवसीय विश्वकप र २०२४ को ट्वान्टी–२० विश्वकपजस्ता ठूला प्रतियोगितामा यो टोलीले अस्ट्रेलिया, इङ्ल्यान्ड, श्रीलंका, न्युजिल्यान्ड र बंगलादेशजस्ता टोलीलाई हराउन सफल भएको थियो। यो टोली ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा पनि पुगेको थियो, जहाँ दक्षिण अफ्रिकासँग पराजित भयो ।
इङ्ल्यान्डको सीमित ओभरको प्रशिक्षक पदका लागि पनि ट्रोटको नाम चर्चमा छ। अहिले टोलीको मुख्य प्रशिक्षकमा म्याथ्यू मोट छन्। ट्रटले इङ्ल्यान्डका लागि १२७ खेल खेलेका छन्। उनले इङ्ल्यान्ड अन्डर–१९ र लायन्स टिमलाई पनि प्रशिक्षण दिएका छन्।