एजेन्सी । इंग्लिश क्लब टोटेनहमका स्ट्राइकर ह्यारी केन करिब २ महिना मैदान बाहिर रहने भएका छन् । खुट्टाको एन्कलमा चोट बोकेपछि केन दुई महिना मैदानबाहिर रहने भएका हुन् ।
इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतबार राति म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा केनको देब्रे खुट्टाको एन्कलको लिगामेन्ट च्यातिएको थियो । उक्त खेलमा टोटेनहम १ - ० ले पराजित भएको थियो ।
टोटेनहमले केन चोटमुक्त हुन आगामी मार्चसम्म लाग्ने जनाएको छ । २५ बर्षिय स्ट्राइकर केन मैदानबाहिर रहने भएपछि लिगमा टोटेनहमलाई समस्या हुने देखिएको छ । जारी लिगको तेस्रो स्थानमा रहेको टोटेनहम शीर्ष स्थानको लिभरपुल भन्दा ९ अंकले पछि छ ।
केनले जारी सिजन क्लबका लागि २० गोल गरिसकेका छन् ।