काठमाडौं। मनाङ मर्स्याङ्दी क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा तेस्रो चरणसम्म कुनै हार सामना गर्नुपरेको थिएन।
विभायीय टोली त्रिभुवन आर्मी, संकटका र जावलाखेल युथ क्लबमाथि समान १–० कठिन जित निकाले पनि मनाङले शीर्ष स्थान कब्जा गरेकै थियो। तर, चौथो खेलमा भने त्यही मनाङले सातदोबाटो युथ क्लबसँग २–० को अपत्यारिलो नतिजा आत्मसात् गर्यो।
यो चरणसम्म सातदोबाटोले कुनै जित निकाल्न सकेको थिएन। तर, त्यही जितले सातदोबाटोले तीन अंक जोड्यो भने नेपाल पुलिसले उछिन्दा मनाङले शीर्ष स्थान छोड्यो। त्यसको चार दिनपछि मनाङ पुनः सोही स्थानमा उक्लिएको छ, जुन स्थानमा ऊ पहिलादेखि नै थियो।
सोमबार एन्फा कम्प्लेक्समा एफसी खुमलटारलाई ३–१ ले हराउँदै मनाङलाई पुरानै स्थानमा उकाल्न महत्त्वपूर्ण भूमिका खेले सागर मगर, निशान्तराज लावत विशाल चन्दले। खेलको सुरुआतीदेखि नै मनाङले खुमलटारको पोस्टमा आक्रमण बुनेको थियो। यद्यपि, सुरुआती अग्रता भने खुमलटारले लियो। दोस्रो जित निकाल्ने लक्ष्य साथ मैदान उत्रिकएको खुमलटारले उक्त अग्रता भने धेरै बेर टिकाउन सकेन।
सुरजप्रसाद साहले बल रिलिज गर्दा मध्यभागमा रहेका मनाङका मिडफिल्डरले सीधै हेडर गर्दै सुजल डंगोललाई पास मिलाइदिए। डी बक्सनजिक पुगेपछि सुरजले अगाडी बढेर बल क्लियर गर्ने प्रयास गरेपनि बिट गर्दै सुजलले दिएको पासलाई अनमार्कमा रहेका सागरले जाली चुमाए। पहिलो हाफ १–१ गोलमा सकिएपछि मनाङले त्यसपछि उत्कृष्ट प्रदर्शन गर्यो। ७३औं मिनेटमा निशान्तले रिबान्डमा आएको बललाई गोल गर्दै मनाङलाई २–१ को अग्रता दिलाए।
विशाल चन्दले उपलब्ध गराइदिएको बललाई सुजल डंगोलले खुमलटारका डी बक्सनजिक रहेका खुमलटारका दुई डिफेन्डर बिचबाट सीधै प्रहार गरेका थिए। सुरजले उक्त बल ड्राइभ गर्दै बचाउने प्रयास गरेपनि सफल नहुँदा गोल लाइननजिक रहेका निशान्तले जाली चुमाए। त्यसको तीन मिनेटपछि नै विशालले नै अर्को गोल थपे।
४६औं मिनेटमा मैदान प्रवेश मनबिच गुरुङले उपलब्ध गराइदिएको बललाई विशालले माथिल्लो बारतर्फ प्रहार गरेका थिए। तर, खुमलटारका गोलरक्षक सुरजले कुनै प्रतिकृया नजनाउँदा बलले जाली चुमेको थियो। जितसँगै मनाङले दोस्रो स्थानमा रहेको न्युरोड टिम (एनआरटी)सँगको अंक दुरी दुईमा पुर्याएको छ। पाँच खेल खेलको मनाङको १२ अंक छ भने एनआटीको ११ अंक।