काठमाडौं। केही महिनादेखि श्रीलंकाका कप्तान चम्री अटापट्टुले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने संकेत दिइरहेकी थिइन्।
तर, आइतबार एसिसी महिला एसिया कपमा भारतलाई आठ विकेटले पराजित गर्दै पहिलोपल्ट श्रीलंकालाई उपाधि दिलाएपछि भने उनले आफ्नो योजनामा पुनर्विचार गरेकी छन्। अब अटापट्टु अर्को वर्ष हुने एकदिवसीय विश्वकपसम्म राष्ट्रिय टोलीसँग रहने छिन्।
३४ वर्षीया अटापट्टु विगत केही महिनादेखि आफ्नो भावी योजनाबारे शंकाको घेरामा थिइन्। उनी टोलीका कप्तान र उत्कृष्ट खेलाडी हुन्। तर, अप्रिलमा दक्षिण अफ्रिकाविरुद्ध खेल्दै गर्दा उनले राष्ट्रिय टोलीसँगको आफ्नो अन्तिम शृंखला भन्दै सामाजिक सञ्जालमा पोस्टमा गरेकी थिइन्।
एसिया कपको फाइनल खेलपछि उनले भनिन्, 'अर्को एकदिवसीय विश्वकप खेल्नेछु भन्नेमा मेरो आशा छ।' एकदिवसीय विश्वकपको तालिका र मिति अझै सार्वजनिक गरिएको छैन। तर, प्रतियोगिता अर्को वर्ष भारतमा हुने तय छ।
योसँगै अटापट्टु आगामी दुई विश्व प्रतियोगितामा श्रीलंकाको टोलीको हिस्सा हुने लगभग निश्चित छ। यस वर्षको अक्टोबरमा बंगलादेशमा ट्वान्टी–२० विश्वकप आयोजना हुनेछ।
अटापट्टुले भर्खरै भएको एसिया कपमा आफ्नो टोलीका लागि उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। उनले फाइनलमा ४३ बलमा ६१ रनको विजयी इनिङ्स खेलिन्। उनी प्रतियोगिताका सर्वाधिक रनकर्तासमेत बनिन्। पाँच इनिङ्समा उनले १४७ को उत्कृष्ट स्ट्राइक रेटमा ३०१ रन बनाएकी थिइन्।