काठमाडौं। खेलकुदसम्बन्धी अनलाइन इएसपिएनले सार्वजनिक गरेको २१औं शताब्दीका शीर्ष २५ पुरुष फुटबल खेलाडीहरूको वरीयतामा अर्जेन्टिनाका कप्तान लिओनल मेसी शीर्ष स्थानमा परेका छन्।
१० ला लिगा, सात कोपा डेल रे, चार च्याम्पियन्स लिग, एक विश्वकप, दुई कोपा अमेरिका, दुईफिफा विश्वकप गोल्डेन बल र आठ पटक बालोन डी'ओर विजेता मेसीलाई इएसपिएनले शीर्ष स्थानमा राखेको हो। उनी बार्सिलोना (६७२) र अर्जेन्टिना (१०९) का कीर्तिमानी गोलकर्ता पनि हुन्।
मेसीले कतार विश्वकप २०२२ जित्नु अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धी रहेको इएसपिएनले जनाएको छ। सन् २०१४ को फाइनलमा अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो। क्लब र देशका लागि खेलमा सबै जितेका मेसीले त्यसको आठ वर्षपछि विश्वकप पनि जितेका हुन्। तर, उनी करियरको अन्त्यनजिक छन्। ३४ वर्षका मेसीले अर्जेन्टिनालाई विश्वकप जिताउँदा फ्रान्सविरुद्ध दुई गोल गरेका थिए।
यो वरीयतामा पाँच बालोन डी'ओर, पाँच च्याम्पियन्स लिग, तीन प्रिमियर लिग, दुई ला लिगा र दुई सिरी ए विजेता क्रिस्टियानो रोनाल्डो दोस्रो स्थानमा छन्। पोर्चुगलका ३९ वर्षीय कप्तान रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलका सर्वाधिक गोलकर्तासमेत हुन्। उनले १३० गोल गरिसकेका छन्।
थियरी हेनरी तेस्रो, जिनेदिन जिदान चौथो र लुका मोड्रिच पाँचौं स्थानमा रहेका छन्। केलियन एमबाप्पे छैटौं, आन्द्रेस इनिएस्टा सातौं, जाभी हर्नान्डेज आठौं, रोनाल्डो नाजारियो नवौं र रोनाल्डिन्हो १०औं स्थानमा रहँदा ज्लाटन इब्राहिमोविच ११औं स्थानमा छन्। नेयमार भने यो वरीयतामा २०औं स्थानमा छन्।