काठमाडौं। नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरेन्टो नेसनल्स ग्लोबल क्यानडा ट्वान्टी-२० लिगमा पराजित भएको छ।
सोमबार बिहान सम्पन्न खेलमा सरे जगुआरसँग टोरेन्टो ८० रनले पराजित भएको हो। टोरेन्टोको यो पहिलो हार हो।
यसअघि टोरेन्टोले भ्यानकुभर नाइट्स र ब्राम्पटन वुल्भ्सलाई समान आठ विकेटले पराजित गरेको थियो। सरेको भने यो पहिलो खेल हो।
सरेले दिएको १६२ रनको लक्ष्य पछ्याएको टोरेन्टो १७.१ ओभरमा सबै विकेट गुमाउँदै ८१ रनमा समेटियो। टोरेन्टोका ओपनर उन्मुक्त चन्दले सर्वाधिक २१ रन बनाए। भान डेर डुसेन १५, निकोलस किर्टन ११ र रोहितकुमार पौडेल १० रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
सरेका मार्कस स्टोइनिस र सुनील नारायणले समान तीन विकेट लिए। मोहम्मद नाबीले दुई र बेन लिस्टरको नाममा एक विकेट रह्यो।
त्यसअघि ब्याटिङ गरेको सरेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो। सरेका कप्तान मार्कस स्टोइनिसले सर्वाधिक ५७ रन बनाए। काइल मेयर्स २७, वीरनदीप सिंह २३, ब्रान्डन म्याकमुलन १८ र मोहम्मद नाबी १३ रनमा आएट भए।
टोरन्टोका मोहम्मद रोहित र जुनैद सिद्दिकीले समान दुई विकेट लिए। जतिन्द्रपाल मथारु र रोमारियो शेफर्डको नाममा एक/एक विकेट रह्यो।