काठमाडौं । झापा-११ विरगंजमा जारी दोस्रो संस्करणको टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भारत सिलिगुढीको क्लब रोयल फुटबल क्लबलाई ४-२ गोल अन्तरले पराजित गर्दै झापा-११ ले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
नारायणी रंगशालामा भएको खेलमा झापालाई जित दिलाउन राज कुमार कन्दङवा, शक्ति राई, आशीष चापागाई र विकेश लिम्बुले समान १-१ गोल गरे । रोयलका लागि सिद्धान्त क्षेत्री र करण राईले १-१ गोल फर्काए ।
जितसंगै झापाले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबसंगको भेट पक्का गरेको छ ।
पूर्व राष्ट्रिय फुटबल खेलाडी स्वर्गीय विशालजंग राणाको स्मृतिमा विशाल मेमोरियल फाउण्डेशनले आयोजना गरेको प्रतियोगिताको विजेताले ५ लाख ५५ हजार ५५५ प्राप्त गर्दा उपविजेताले २ लाख ७७ हजार ७७७ रुपैयाँ पाउने छन् ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउनेछन् ।
तस्बिर : विशाल मेमोरियल फाउण्डेशन