काठमाडौं। हर्षिता समरविक्रम र चमारी अथपथुको सानदार ब्याटिङसँगै भारतलाई पराजित गर्दै श्रीलंकाले एसिसी महिला एसिया कप जितेको छ।
आइतबार सम्पन्न फाइनलमा भारतलाई आठ विकेटले हराउँदै श्रीलंकाले पहिलोपल्ट उपाधि जितेको हो। भारतले सुरुका ६ संस्करणको उपाधि जितेको थियो। तीमध्ये चार संस्करणको फाइनलमा श्रीलंकालाई पराजित गरेको हो। दुईपल्ट भने भारतले पाकिस्तानलाई पराजित गर्दै उपाधि जित्यो।
तर, सन् २०१८ मा भारत फाइनलमा बंगलादेशसँग तीन विकेटले पराजित भयो। पछिल्लो संस्करण भारतले फाइनलमा श्रीलंकालाई आठ विकेटले पराजित गर्दै सातौंपल्ट उपाधि जितेको थियो। यसपल्ट भने श्रीलंका त्यो फराकिलो हारको बदला लिन सफल भयो।
भारतले दिएको १६६ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ८ बल बाँकी छदै दुई विकेट गुमाएर १६७ रन बनायो। श्रीलंकाकी हर्षिता समरविक्रमले अविजित रहँदै ६९ रन बनाइन्। ५१ बल खेलेकी उनले ६ चौका र दुई छक्का प्रहार गरिन्।
ओपनर तथा कप्तान चमारीले ४३ बलमा नौ चौका र दुई छक्का प्रहार गरिन्। विष्मी गुणरत्ने एक रनमा आउट हुँदा कविशा दिल्हारी ३० रनमा अविजित रहिन्।
भारतकी दिप्ती शर्माले एक विकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले ३० रन खर्चिइन्।
त्यसअघि रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको भारतले स्मृति मान्धनाको अर्धशतकीय इनिङ्ससँगै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो।
स्मृतिले ५६ बलमा १० चौकासहित ६० रन बनाइन्। ऋचा घोष ३०, जेमिमाह रोड्रिग्जे २९, शेफाली वर्मा १६ र कप्तान हरमनप्रीत कौर ११ रनमा आउट हुँदा पूजा वस्त्रकार पाँच र राधा यादव एक रनमा अविजित रहिन्।
श्रीलंकाकी कविशा दिल्हारीले सर्वाधिक दुई विकेट लिइन्। सचिन निसानशााल, चमारी अथपथु र उदेशिका प्रबोधनीले समान एक विकेट लिइन्।