हेटौंडा। मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता भदौ ७ गतेबाट हुने भएको छ। मकवानपुर जिल्ला फुटबल संघको शनिबार बसेको कार्यसमितिको बैठकले जिल्ला लिग फुटबल प्रतियोगिताको भदौ ७ गतेबाट गर्ने निर्णय गरेको महासचिव छवि सुवेदीले जानकारी दिए।
आर्थिक वर्ष २०८०–८१ मा एन्फा मकवानपुरमा नवीकरण गरेका क्लबले प्रतियोगितामा सहभागिता जनाउने उनले बताए। प्रतियोगितामा २८ वटा क्लबबाट ३५ वर्षभन्दा कम उमेरसमूहका खेलाडीहरू सहभागी हुन पाउने उनले बताए।
प्रतियोगिता दुई खेल मैदानमा हुनेछ। हेटौंडा–११, थानाभर्याङस्थित खेल मैदान र हेटौँडा–६ स्थित गौरिटार रंगशाला र हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामध्ये दुई वटा खेल मैदानमा लिगका खेलहरू खेलाइने छ।
प्रतियोगिताको उपाधि विजेता टिमले असोज महिनामा हुने बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा सहभागी हुन पाउनेछन्। २०७६ सालको कोरोनापछि हालसम्म मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता आयोजना हुन सकेको छैन। त्यसलाई एन्फा मकवानपुरले निरन्तरता दिन लागेको हो।
प्रतियोगिताको विजेता र उपविजेता टिमलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ। यसअघि भएको मकवानपुर जिल्ला लिगको उपाधि न्यु डाँफे युथ क्लबले जितेको थियो भने हटिया स्पोर्ट्स एकेडेमी उपविजेता बनेको थियो।
प्रतियोगिताको खेल तालिका केही दिनमा सार्वजनिक गरिने जनाएको छ। प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता शुल्क सात हजार रुपैयाँ तोकिएको छ। प्रतियोगिता आयोजनाका लागि १२ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ।