काठमाडौं। ब्राजिलियन फरवार्ड एन्ड्रिकले आफ्नो १८ औं जन्मदिन मनाएको केही दिनपछि रियल मड्रिडसँग ६ वर्षको सम्झौता गरेका छन्।
ला लिगा क्लबले सन् २०२२ मा साओ पाउलोस्थित पाल्मेरासबाट एन्ड्रिकलाई अनुबन्ध गर्न सम्झौता गरेको थियो। उनी जुलाई २०२४ मा १८ वर्षको भएपछि रियलमा पठाइने सहमति गरिएको थियो।
स्पेनिस सञ्चारमाध्यमका अनुसार रियलको १६ नम्बरको जर्सी लगाउने एन्ड्रिकलाई तीन करोड ५० लाख युरो (तीन करोड ८० लाख अमेरिकी डलर) को प्रारम्भिक शुल्कमा अनुबन्ध गरिएको छ।
'सानो छँदादेखि नै म सधैं रियलको समर्थक थिएँ। अब म रियकाका लागि खेल्नेछु। यो सपना झैं लागिरहेको छ,' एन्ड्रिकले भने।
पाल्मेरास एकेडेमीका उत्पादन एन्ड्रिकले गत वर्ष आफ्नो डेब्यु पछि ब्राजिलका लागि १० खेलमा तीन गोल गरेका छन्। वेम्बलीमा घरेलु टोली इङ्ल्यान्डविरुद्ध उनले गोल गरेका थिए। उनी अन्तर्राष्ट्रिय गोल गर्ने सबैभन्दा कान्छो पुरुष खेलाडी हुन्। उनले पाल्मेरासका ८२ खेलमा २१ गोल गरेका थिए।