काठमाडौं। शनिबार पल्लेकेलेमा भारत र श्रीलंकाको टोली एकअर्कासँग भिड्दा यो नयाँ युगको सुरुआत हुनेछ। भारतका स्टार क्रिकेटर रोहित शर्मा, विराट कोहली र रविन्द्र जडेजाले सन्न्यास लिएका छन्। भारतीय टोलीको कप्तानी जिम्मेवारी सूर्यकुमार यादवलाई दिइएको छ।
यता, श्रीलंकाले चरित असालान्कालाई कप्तानी दिएको छ। दुवै टोलीमा नयाँ प्रशिक्षक पनि छन्। भारतमा गौतम गम्भीर छन् भने सनथ जयसूर्या श्रीलंकाको अन्तरिम प्रशिक्षक बनेका छन्।
भारतले भर्खरै सन् २०२४ को टी–२० विश्वकप जितेर आईसीसी ट्रफीको खडेरी समाप्त गरेको थियो। तर, सन् २०१४ को विश्वविजेता श्रीलंका भने पहिलो चरणबाटै बाहिरियो।
त्यसपछि भारतले जिम्बावे भ्रमणमा बी टोली पठाएको थियो। पाँच खेलको ट्वान्टी २० शृंखला भारले ४-१ ले जित्यो। श्रीलंकाका खेलाडीहरू श्रीलंका प्रिमियर लिगमा व्यस्त रहे। असालान्काले जाफना किंग्सलाई उपाधि दिलाएका थिए।
असालान्का र सूर्यकुमार दुवैले यसअघि राष्ट्रिय टोलीको कप्तानी गरिसकेका छन्। असालान्काले यस वर्षको सुरुमा दुई ट्वान्टी २० मा श्रीलंकाको कप्तानी गरेका थिए। सूर्यकुमारले २०२३ को अन्त्यमा अस्ट्रेलिया र दक्षिण अफ्रिकाविरुद्ध सात खेलमा भारतीय टोलीको कप्तानी गरे।
भारत अझै पनि पूर्ण टोलीका साथ शृंखलामा प्रवेश गर्न सकेको छैन। जसप्रित बुमराह अहिले विश्वका उत्कृष्ट बलर हुन्, जसलाई विश्राम दिइएको छ। श्रीलंका पनि नुवान थुसारा र दुष्मन्थ चमेरा बिना खेल्दै छ। थुसारालाई चोटग्रस्त छन् भने चमेरालाई ज्वरो आएको छ।