काठमाडौं। बार्सिलोनाका नवनियुक्त प्रशिक्षक ह्यान्सी फ्लिकले युरो २०२४ मा स्पेनिस क्लबका युवा विंगर लामिन यमलको प्रदर्शनको प्रशंसा गरेका छन्। स्पेनले फाइनलमा इङ्ल्यान्डलाई २–१ ले हराउँदा यमल मात्र १७ वर्ष पुगेका थिए।
यमलले १६ वर्ष ३३८ दिनको उमेरमा युरो कपमा डेब्यु गरेका थिए। उनी युरो कप खेल्ने सबैभन्दा कान्छो खेलाडी हुन्। त्यसपछि फ्रान्सविरुद्ध सेमिफाइनलमा २–१ को जितमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी गोलकर्ता बने। त्यतिखेर उनको उमेर १६ वर्ष ३६२ दिनको थियो।
यमल १७ वर्ष पुगेको एक दिनपछि स्पेनले फाइनलमा इङ्ल्यान्डलाई २–१ गोलअन्तरले पराजित गर्दै चौथो पटक युरो कप उपाधि जितेको थियो।
‘उनले पछिल्लो एक वर्षमा निकै राम्रो प्रदर्शन गरेका छन्, ले धेरै सुधार गरेका छन्। उनले युरो कपमा जे गरे त्यो अविश्वसनीय छ,’ फ्लिकले भने,‘तर महान् खेलाडीले आफ्नो प्रदर्शनलाई कायम राख्न सकेका छैनन्। त्यसैले अब उनले आफ्नो खुट्टा भुइँमा राख्न आवश्यक छ।’
बार्सिलोनाले गत मे महिनामा जाभी हर्नान्डेजलाई बर्खास्त गरेपछि जर्मनी र बायर्न म्युनिखका पूर्वप्रशिक्षकलाई दुई वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो।
जर्मन क्लब बायर्नलाई सन् २०२० मा ऐतिहासिक उपाधि दिलाएका फ्लिक सन् २०२३ को सेप्टेम्बरमा जर्मन राष्ट्रिय टोलीबाट बर्खास्त हुने पहिलो प्रशिक्षक बनेका थिए।